कुनै पनि सफल नेताको उदय केवल एक व्यक्तिको प्रयासबाट सम्भव हुँदैन, त्यसको पछाडि देखिनेभन्दा धेरै नदेखिने पात्रहरूको योगदान लुकेको हुन्छ ।
आजका प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र शाहको राजनीतिक यात्रालाई नजिकबाट हेर्दा पनि यस्तै एउटा नाम निकै अगाडि आउँछ- सधैँ छायाँमा रहेर काम गर्ने, तर निर्णायक भूमिका खेल्ने पात्र, कुमार व्यञ्जनकार अर्थात् कुमार बेन ।
बालेनको राजनीतिक चेतनाको जग कुनै पार्टी कार्यालयमा होइन, ललितपुरको एक साधारण घरको आँगन थियो । त्यो घर थियो, नरसिंह व्यञ्जनकारको, जसलाई बालेनले आफ्नो राजनीतिक गुरुको रूपमा मान्दै आएका छन् ।
नरसिंह व्यञ्जनकार ललितपुर महानगरपालिका वडा नम्बर १० मा दशकौँसम्म स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै जनविश्वास जित्ने दुर्लभ उदाहरण बनेका थिए ।
पार्टीको झण्डाविना जनताको भरोसा जित्ने उनको शैलीले बालेनमा गहिरो प्रभाव पारेको थियो । बालेनका तिनै राजनीतिक गुरु नरसिंह व्यञ्जनकारका छोरा हुन्, कुमार बेन ।
यही घरमा बालेनको भेट कुमार बेनसँग भएको थियो । राजनीति किताबबाट होइन, व्यवहारबाट सिकेका कुमार बेनका लागि चुनावी मैदान, जनताको भीड र स्थानीय संघर्ष नै विश्वविद्यालय थिए ।
पिताबाट पाएको अनुभव र आफ्नै विश्लेषणात्मक क्षमताले उनलाई रणनीतिक सोच भएको व्यक्ति बनायो, जसले बालेनको राजनीतिक यात्रालाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्यो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जब बालेन स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर बन्न अगाडि बढे, त्यसबेलादेखि नै बालेनलाई निरन्तर सहयोग गर्ने प्रमुख पात्र कुमार बेन नै हुन् । सामाजिक सञ्जालको सशक्त प्रयोग, युवामुखी सन्देश र सिस्टम चेन्जजस्तो स्पष्ट न्यारेटिभले २०७९ को स्थानीय चुनावलाई नयाँ मोड दिएको थियो ।
त्यो अभियानको डिजाइन, कोर टीम निर्माण र सन्देशको संरचना- यी सबैमा पर्दा पछाडिबाट काम गर्ने मुख्य व्यक्ति थिए, कुमार बेन । उनले कुन मुद्दा उठाउने, कसरी जनतासम्म पुग्ने र कसरी प्रतिस्पर्धालाई रणनीतिकरूपमा जित्ने भन्ने विषयमा निरन्तर सल्लाह दिएका थिए ।
बालेन मेयरमा निर्वाचित भएपछि पनि यो सहकार्य रोकिएन । महानगरमा उनले गरेका कडा र चर्चित निर्णयहरू- अवैध संरचना हटाउने, नक्सा मापदण्डमा कडाइ गर्ने र प्रशासनिक सुधारको पहल गर्ने जस्ता काममा सार्वजनिक रूपमा बालेनको नाम मात्र देखियो, तर त्यसअघि हुने आन्तरिक छलफलहरूमा कुमार बेनको रणनीतिक भूमिका महत्वपूर्ण रहँदै आएको थियो।
निर्णय कहिले गर्ने, कसरी लागू गर्ने, सम्भावित विरोधलाई कसरी व्यवस्थापन गर्ने, यी विषयमा कुमार बेनले निरन्तर सल्लाह दिँदै आएका थिए । यही कारण धेरैले बालेनलाई ‘निर्णयकर्ता’ र कुमार बेनलाई ‘निर्णयको मस्तिष्क’ भनेर पनि व्याख्या गर्ने गर्छन् ।
बालेनको प्रभाव स्थानीय तहबाट विस्तार हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने संकेत देखिन थालेपछि पर्दा पछाडिको गतिविधि अझ तीव्र बन्यो ।
विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग अनौपचारिक भेटघाट, सम्भावित सहकार्यको आधार निर्माण र नयाँ राजनीतिक समीकरणको खोजी लगायतका सबै प्रक्रियामा कुमार बेन सक्रियरूपमा संलग्न थिए, जसले उनलाई केवल सल्लाहकार मात्र नभई ‘नेटवर्क बिल्डर’को रूपमा पनि स्थापित गर्यो ।
बालेनले मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा औपचारिक रूपमा प्रवेश गर्ने निर्णय लिए । त्यो निर्णय पनि अचानक आएको थिएन । पार्टी निर्माण र नयाँ राजनीतिक समीकरणबारे छलफल गर्न रवि लामिछाने लगायतका नेताहरूसँग भएका महत्वपूर्ण भेट पनि कुमार बेनकै घरमा भएका थिए ।
रवि र बालेनलाई देशमा बढ्दो युवा असन्तोष, परम्परागत दलप्रतिको निराशा र नयाँ राजनीतिक विकल्पको खोजीले नजिक ल्याउने वातावरण तयार गरेको थियो।
काठमाडौं महानगरपालिकाको मेयरका रूपमा बालेनले निर्माण गरेको काम गर्ने नेतृत्वको छवि र रवि लामिछानेको राष्ट्रिय स्तरमा स्थापित संगठनात्मक प्रभावले उनीहरूलाई एउटै राजनीतिक धारमा उभ्यायो। यस समयमा पनि कुमार बेनले पर्दा पछाडि उभिएर काम गरे ।
रवि र बालेनबीच निरन्तर छलफलपछि पार्टीको औपचारिक नेतृत्व रवि लामिछानेकै हातमा रह्यो । निर्वाचनपछिको कार्यकारी नेतृत्व अर्थात् प्रधानमन्त्री भने बालेन बने ।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको रास्वपाले फागुन २१ को निर्वाचनमा अभूतपूर्व साथ पाएर २७५ मध्ये १८२ सीट जित्न सफल भयो ।
आज बालेनलाई जनसमर्थन, वैकल्पिक राजनीतिप्रतिको आकर्षण र पुराना दलप्रतिको असन्तुष्टिको लहरले प्रधानमन्त्रीको कुर्सीसम्म पुर्यायो ।
बालेनको मेयरदेखि प्रधानमन्त्रीसम्मको यात्रामा अविरल साथ दिइरहेका पात्र कुमार बेन नै हुन् ।
कुमार बेनले अहिलेसम्म आफ्नो भूमिकालाई व्यक्तिगत लाभसँग जोड्ने प्रयास गरेका छैनन् । सत्ता र अवसरको केन्द्रमा हुँदा पनि उनी सार्वजनिक रूपमा कम देखिन्छन्, तर निर्णय प्रक्रियामा सक्रिय रहन्छन् ।
राजनीतिमा स्वार्थको लडाइँ हावी भइरहेका बेला उनको निस्वार्थ सहयोग र पर्दापछाडिको निरन्तर उपस्थितिले बालेनको यात्रालाई अझ मजबुत बनाएको देखिन्छ ।
तिनै पर्दापछाडिको हिरो कुमार बेनलाई प्रधानमन्त्री बालेनले आफ्नो प्रमुख सल्लाहकारका रूपमा नियुक्त गरेका छन् ।
यति भन्न हिच्किचाउनु पर्दैन– बालेन्द्र शाहलाई 'प्रधानमन्त्री बालेन' बनाउन कुमार बेनले निकै महत्त्वपूर्ण भूमिका खेलेका छन् । त्यही कारण बालेनले सबैभन्दा बढी विश्वास र भरोसा पनि कुमार बेनलाई नै गर्छन् ।
हेर्नुहोस्, भिडियो :