काठमाडौं, १९ पुस — अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार, पृथ्वीबाहिर अन्तरिक्षमा फोहोरका ६ लाखभन्दा बढी टुक्राहरू तैरिरहेका छन् ।
भविष्यमा अन्तरिक्षयात्रा गर्न अत्यन्तै अप्ठ्यारो हुनसक्ने हालत उत्पन्न भएको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाका ताजा रिपोर्टहरूमा भएको खुलासाले स्पेस एजेन्सीको चिन्ता बढाइदिएको छ ।
रिपोर्टअनुसार, विमान, रकेट, स्याटेलाइट र स्पेस स्टेसनका खराब पाटपुर्जाको फोहोर अन्तरिक्षमा थुप्रिँदै गएको छ । फोहोरको यो भारी संख्याले पृथ्वीबाहिर एउटा जालो नै बनेको छ ।
अन्तरिक्ष र यससँग जोडिएको खोजका लागि धेरै देशका स्पेस एजेन्सीहरू लगातार काम गरिरहेका छन् । यसका लागि उनीहरूले रकेट र स्याटेलाइट जस्ता उपकरण अन्तरिक्षमा पठाउने गरेका छन् ।
अन्तरिक्षमा पठाइने रकेट र स्याटेलाइटका केही भाग मात्र जमीनमा फर्किन्छन् । साधारणतया अन्तरिक्षयानको तौल कम गर्नका लागि प्रयोगपश्चात् शेल वा बोक्रालाई त्यहीँ छोडिन्छ । यी कुराहरू नै गुरुत्वाकर्षणविहीनताका कारण अन्तरिक्षमा तैरिन्छन् ।
भविष्यमा अन्तरिक्ष पठाइने स्पेस शटलहरू र अनुसन्धान कार्यक्रमका लागि यी फोहोर सबभन्दा ठूला खतरा बनेका छन् । अन्तरिक्षमा तैरिने यी टुक्राहरूको लम्बाइ एक सेन्टिमिटरदेखि १० सेन्टिमिटरको बीचमा पर्छ । हरेक वर्ष यी फोहोरका कारण कुनै न कुनै भूउपग्रह नष्ट हुन्छ । यिनले स्पेस शटललाई पनि हानि गर्छन् ।
अमेरिका, रुस र चीनले अन्तरिक्षमा फोहोर फैलाएको स्पेस साइन्टिस्ट रिची कार्मिशेल बताउँछन् ।
एजेन्सी