
काठमाडौं, १९ पुस — अघिल्लो वर्ष छिमेकी मुलुक भारत र चीन सिक्किम क्षेत्रमा रहेको त्रिदेशीय सीमा दोक्लममा आमनेसामने भएका थिए । साढे दुई महिनासम्म दुवै देशका सैनिकबीच सीमामा गतिरोधको स्थिति रह्यो ।
अहिले त्यस्तै खालको परिस्थिति अरुणाचल प्रदेशको माथिल्लो सियाङ जिल्लामा विकसित भइरहेको समाचार आएको छ । विगत एक हप्तादेखि दुवै देश उक्त क्षेत्रमा आमनेसामने छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, चिनियाँ सैनिकहरू सडक बनाउने यन्त्रका साथ भारतीय सिमानाको २०० मिटर भित्र घुसेका थिए । उनीहरू माथिल्लो सियाङ पुगेपछि भारतीय सैनिकहरूले रोकेका थिए ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका राज्य पार्षद याङ जिएचीले नयाँ दिल्लीमा डिसेम्बरमा सीमाक्षेत्रको बारेमा वार्ता गरिरहेको बेलामा चिनियाँ सैनिक घुसेको बताइएको छ ।
भारतका सुरक्षा निकायका एक व्यक्तिले द न्यु इन्डियन एक्सप्रेसलाई बताएअनुसार, दुई देशबीचको गतिरोध नयाँ वर्ष लाग्नुअघि नै शुरु भएको हो र अहिलेसम्म जारी छ ।
अर्का एक व्यक्तिले चाहिँ यो कुरालाई चर्काएर अर्को दोक्लम विवाद जन्माउन नचाहेको र सरकारले आफूलाई यस विषयमा सार्वजनिक बयान नदिनू भनेको बताए ।
तर माथिल्लो सियाङका डेपुटी कमिस्नर दुली काम्दुकले हिन्दुस्तान टाइम्सलाई बताए, ‘तुतिङ सबडिभिजनमा हाम्रा अधिकारीहरूले चिनियाँ अतिक्रमणको जानकारी दिएका छैनन् । सशस्त्र बलबाट पनि यसबारेमा केही बताइएको छैन
।’
भारतीय सेनाका प्रवक्ताले यस घटनामाथि कुनै टिप्पणी गरेनन् ।
एजेन्सी