
रामेछाप, १९ पुस– रामेछाप सदरमुकाम मन्थलीबाट १६ किलोमिटर पश्चिम हिँडेपछि पुगिन्छ, ग्वादी गाउँ । रामेछाप नगरपालिकाको ४ नम्बर वडामा पर्ने यो गाउँको कुनै विशिष्ट पहिचान त छैन । तर यहाँ बसोबास गर्ने ‘हायु’ समूदायका व्यक्ति भने आफ्नो पहिचान नै मेटिने हो कि भन्ने चिन्तामा छन् ।
देशभर २ हजार ९ सयको संख्यामा रहेका ‘हायु’ समूदायका मानिसको मुख्य पेषा साहुको ‘नोकरी’ गरेर गुजारा चलाउनु हो । तराई क्षेत्रमा थारु समुदायका व्यक्ति साहुको घरमा ‘कमैया’ बसेजस्तै रामेछापलगायत पहाडी क्षेत्रमा ‘हायु’ समुदायका पुरुष ‘कमारा’ बस्छन् । 
‘हायु’ जातिका व्यक्तिहरु आफ्नो पूर्खाको विकास रामेछापको सिकाजोल भन्ने ठाउँबाट भएको मान्छन् । अहिले यो समुदायका मानिस काभ्रे, सिन्धुली, रामेछाप, सर्लाही, महोत्तरी लगायत जिल्लामा पनि फैलिएका छन् ।
रामेछापको ग्वादी गाउँमा करिव १ हजार ७ सयको हाराहारीमा यो जातिका मानिसको बसोबास छ । अरुको घरमा काम गरेर जीविका चलाउने यो समुदायका मानिसको आर्थिक अवस्था दयनिय छ ।
अहिले भने शिक्षा मन्त्रालय र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) संयुक्त पहलमा ‘हायु’का बालबालिकाहरु विद्यालय जान थालेका छन् ।
युएनडिपीसँगको सहकार्यमा नेपाल सरकारले सञ्चालन गरेको ‘मेडेप’ नामक परियोजनाले हायु समुदायका व्यक्तिका लागि आम्दानीमूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । हालै मात्रै १५ दिने व्यवसायिक मौरीपालन तालिम सञ्चालन गरिएको परियोजनाका संयोजक भुमी भण्डारीले जानकारी दिए ।

उक्त तालिमबाट हायु समुदायका ८० घर लाभान्वित भएका छन् । उनीहरुलाई प्रतिव्यक्ति २ का दरले मौरीका घार समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक भण्डारीले बताए ।
हायु समुदायमा औषधिको रुपमा लिइने चिउरीको मह उत्पादन गर्न विशेष जोड दिइएको छ । ‘ग्वादी माहुरी कृषि लघुउद्यमी समूह’मा आवद्ध भएर चिउरीको मह उत्पादन गर्दै आएका हायु समुदायका व्यक्तिले राजधानी काठमाडौंसम्म आफ्नो उत्पादन पुर्याउँछन् ।
हायु समुदायले उत्पादन गर्ने महका लागि काठमाडौंको गण्डकी बी कन्र्सनले बजार व्यवस्थापन गर्दै आएको छ । त्यहाँ उत्पादित मह गण्डकी बीले एकमुस्ट रुपमा प्रतिकिलो ७०० रुपैयाँ दरले खरिद गर्छ ।