
काठमाडौं १९ पुस–नेकपा एमाले र माओवादी केन्द्र निकटका युवा विद्यार्थीले सरकार विरुद्धको आन्दोलन चर्काउने संकेत गरेका छन् ।
हिजोबाट आन्दोलनमा उत्रिएका उनीहरुले आजपनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
मंगलबारको आफ्नो आन्दोलनमा प्रहरी दमन भएको भन्दै युवा विद्यार्थी संगठनहरुले आज पनि प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा, समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक र इन्धनमा गरिएको मूल्यबृद्धि फिर्ताको मागगर्दै वामपन्थी दलका युवा र विद्यार्थी संगठनले सडक तताउन थालेका हुन् ।
बुधबार काठमाडौंको प्रदर्शनी मार्गबाट शुरु भएको जुलुस रत्नपार्कमा पुगेर टुंगिएको थियो । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने युवा र विद्यार्थी नेताहरुले जनाएका छन् ।