
काठमाडौं, २० पुस– पुस महिनाको ठिहिर्याउने चिसो । त्यसमाथि मध्यरात । ओछ्यानको तातो छोडेर को नै बाहिर निस्केला र ? तर यर्थाथ यस्तो छैन । सिंगो उपत्यकाका अधिकांश मान्छे सुते पनि राजधानीका तीन जिल्लामा मध्यरातमा निष्फिक्री हिँडडुल गर्नेको ठूलो संख्या छ ।
मध्यरातमा मदिराको नशामा होहल्ला गर्दै हिँड्नेहरुको सँख्या पनि ठूलो छ । महानगरीय प्रहरीका अनुसार पुस १ गतेपछि १० दिनमा उपत्यकाका तीन जिल्लाबाट राति १० बजेपछि बिहान ४ बजेसम्मको अवधिमा १ हजार ३ सय ६१ जना पक्राउ परेका छन् । यो तथ्यांकका अनुसार उपत्यकाका तीन जिल्लाबाट प्रत्येक मध्यरातमा औसत एक सय ३६ जना पक्राउ पर्छन् ।
यो अवधिमा सबैभन्दा धेरै काठमाडौंबाट पक्राउ परेका छन् ।काठकाडौंबाट १ हजार २ सय ३२ जना पक्राउ परेका छन् । छिमेकी जिल्ला भक्तपुरबाट ९९ जना र ललितपुरबाट ३० जना पक्राउ परेका छन्, कान्तिपुरमा खबर छ।