
काठमाडौं, २० पुस- प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी छन् । बैठकमा राष्ट्रिय सभा निर्वाचनका बारेमा दलहरुबीच देखिएको मतभेदका बारेमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी छन् ।
बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा देउवा सरकार रहेको छ ।
पछिल्लो समय बामगठबन्धनले प्रदेश प्रमुखमा काँग्रेससंगको नीतिमा केही लचकपन देखाएको छ । तर कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।