
काठमाडौं, २० पुस — उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो टेबलमा आणविक हतियारको बटन भएको धम्की दिएपछि ह्वाइट हाउसले उनको मानसिक स्थितिमाथि प्रश्न उठाएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘राष्ट्रपति र अमेरिकीहरूले उत्तर कोरियाका नेताको मानसिक स्थितिप्रति चिन्तित हुनु जरूरी छ ।’
स्यान्डर्सले किमको लागातार धम्की र क्षेप्यास्त्र परीक्षणको सिलसिला चिन्ताजनक रहेको बताइन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूसँग आणविक हतियारको बटन किमको भन्दा ठूलो रहेको ट्वीट गरेपछि अमेरिकाका राजनीतिक
विश्लेषकहरूले उनको मानसिक स्थितिमा प्रश्न उठाउँदा ह्वाइट हाउसले किमको दिमागमाथि आशंका व्यक्त गरेको हो ।
स्यान्डर्सले थपिन्, ‘हाम्रा राष्ट्रपति झुक्ने छैनन् र कमजोर पनि हुने छैनन् । आफूले जनतालाई गरेको वाचा उनले पूरा गर्नेछन् र अमेरिकाका मानिसका साथ उभिएर उनीहरूको रक्षा गर्नेछन् ।’
एजेन्सी