काठमाडौँ, १० माघ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजदेखि शहीद सप्ताह मनाउन सुरु गरेको छ ।

यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
यस वर्ष पनि महानगरपालिकाले चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा गएर श्रद्धाञ्जलि कार्यक्रम सुरु गरेको छ । आज बिहान महानगरपालिकाले सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान पचलीमा श्रद्धाञ्जलि कार्यक्रम गरी सहिदप्रति सम्मान गरेको छ । सहिद शास्त्रीलाई विसं १९९७ आजकै दिन पचलीमा मृत्युदण्ड दिइएको थियो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत प्रमुख रुद्रसिंह तामाङ, नेपाल सद्भावना पार्टीका नेता निरञ्जन पौडेल र महानगरपालिकाका निर्देशक सनदकुमार थापाले निरङ्कुश व्यवस्थाविरुद्ध तत्कालीन कठिन परिस्थितिमा ज्यानको आहुति दिने सहिद महान् भएको र उहाँहरुका परिवारलाई राज्यले उचित सम्मान दिनुपर्ने धारणा राख्नुभयो ।
यसबाहेक सहिद धर्मभक्त माथेमालाई सिफलमा यही माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।
त्यस्तै, माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । समितिले माघ १६ गते रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी लैनचौरस्थित सहिद स्मारकमा गएर कार्यक्रम गर्ने जनाएको छ ।