
कैलाली, २१ पुस– गत वर्षदेखि कैलालीमा सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) हाल स्थानीय किसानहरुलाई आधुनिक व्यावसायिक गेहुँ खेतीवारे जागरण ल्याउन थालेको छ ।
माटो परिक्षण र उपचार संगै गेहुँबाली छरेका स्थानीय किसानहरु सुपरजोनकै निगरानीमा सिचाइ संगै गेहुँ खेतमा उम्रने रगते झार (सोहुँ), पट्पुर्रा, बेठेलगायत विभिन्न किसिमका झार नियन्त्रणमा हाल जुटेका छन् ।
परियोजना कार्यान्वयन इकाई (गेहुँ सुपरजोन) लौसाले हालै स्थानीय किसानहरुलाई गेहुँ बालीमा उम्रने झारपात र विषादीवारे सचेतीकरण गर्नु संगै झार नियन्त्रणमा अग्रसर गराएको छ ।
गेहुँ सुपरजोन परियोजना प्रमुख रामानन्दन यादवका अनुसार परियोजना लागु भएको कैलाली जिल्लाको साविक बसौटी, उदासीपुर, मसुरिया र पहलमानपुर गाविसस्थित सुचीकृत कृषि समूहका किसानहरुलाई खेतीवारे जागरण तथा हाल विषादी र विषादी प्रयोग विधिवारे सचेतीकरण गराइरहेको छ । जुन अनुसार किसानहरुले आ–आफ्नो खेतमा विषादी छरिरहेका छन् । हाल ९० प्रतिशत क्षेत्रमा विषादी छर्ने काम पूरा भएको परियोजना प्रमुख यादवले जानकारी दिए ।
उनको अनुसार गेहुँ छरेको २५ देखि ३५ दिन भित्र गेहँुमा उम्रने घाँस नियन्त्रणको लागि सल्फोर सल्भिराम (वोम्टीस) नामक विषादी छिर्नु पर्दछ ।
पछिल्लो समय उक्त क्षेत्रमा गेहुँ संगै उम्ने विभिन्न झारका कारण उत्पादनमा ह्रास ल्याउन थालेपछि विषादीको प्रयोगवारे किसानहरुमा जागरण ल्याएको उनको भनाइ छ ।
परियोजना लागु भएको एक हजार हेक्टर जमिनमध्ये हाल तीन सय विघा क्षेत्रफलमा गेहुँ खेती भएको छ । खेती भएको जमिनमा कृषि प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा किसानहरु खेती गरिरहेका छन् । उनले अगाडि थपे–‘परियोजना लागु भएको क्षेत्रका किसानहरुलाई एक दिने विषादीवारे सचेतीकरण गरेपछि निशुल्क विषादी पनि उपलब्ध गराएका छौ । कृषि विज्ञहरुको प्रत्यक्ष निगरानीमा विषादी छर्ने काम भैरहेको छ ।’
परियोजना अन्तरगत १६१ समूह सुचीकृत भएका छन् । जुन सुचीकृत समूहमा आवद्ध किसानहरुलाई गेहुँ खेती प्रविधिवारे जानकारी दिदै आइएको छ ।
कैलाली जिल्ला गेहुँ उत्पादनको दृष्टिकोणले महत्वपूर्ण जिल्ला मानिन्छ । जिल्लामा झन्डै ३४ हजार हेक्टर भन्दा वढी क्षेत्रमा गेहुँ खेती भैरहेको छ । परियोजनाले सीमित क्षेत्रमा मात्रै लागु भएकोले जिल्लाको अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिनु पर्ने जिल्लाका अन्य क्षेत्रका किसानहरुको माग छ ।
किसानहरुको माग अनुसार परियोजनाले थप क्षेत्रमा सेवा विस्तार गर्ने रणनीति बनाएको छ । परियोजना सञ्चालक समिति संयोजक लक्ष्मण चौधरी (सुयोग) ले साविक गदरिया गाविसका केहि भागमा सेवा विस्तार गर्ने रणनीति लिएको जानकारी दिए ।
परियोजनाले आधुनिक खेती संगै आधुनिक प्रविधि, विभिन्न किसिमको कृषि अनुदान, कृषक प्रोत्सानका कार्यक्रम सञ्चालन गरिरहेको छ । समितिका संयोजक सुयोग चौधरीका अनुसार कस्टम हेयररिङ सेन्टर र पोष्ट हार्वेष्ट सेन्टर स्थापना गरी सेवा दिइरहेको छ । कस्टम हेयरिङ सेन्टर अन्तरगत बाली छर्नेदेखि थे्रसिङसम्मका सेवा तथा मेसिनरी औजार उपलब्ध गराइरहेको सुयोग चौधरीले जानकारी दिए । साथै उनले पोष्ट हावेष्ट सेन्टर अन्तरगत बाली भण्डारदेखि बजारीकरणसम्मको सेवा दिइरहेको बताए ।
त्यस्तै, परियोजनाले सिचाइमा ८० प्रतिशत छुट दिइरहेको छ । भने साना किसानहरुको मागमा आधारित ५० प्रतिशत अुनुदान पावर टिलर उपलब्ध गराइरहेको छ ।
साविक मुसरिया र उदासीपुर गाविसलाई ए ब्लक र बसौटी र पहलमानपुर गाविसलाई बी ब्लगमा विभाजन गरी चलनचल्ती रेटमा २० प्रतिशत छुुटमा जोटाई, थ्रेसिङलगायत सेवा पनि दिइरहेको छ ।
परियोजनाले उत्कृष्ट खेती गर्ने कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । उत्कृष्ट तथा तोकिएको मापदण्ड अनुसार खेती गर्ने किसानलाई प्रति हेक्टर पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिरहेको संयोजक चौधरीले बताए ।