
अध्यात्मिक पर्यटनको विकास गर्ने उद्देश्यले लुम्बिनीमा शुक्रबार आयोजित 'लुम्बिनी पिस मेडिटेसन म्याराथन'को उपाधि कुलबहादुर बस्नेतले जितेका छन्। २५७० औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा २१ किमी लामो दूरीको म्याराथन आयोजना गरिएको थियो।
बस्नेतले उक्त दूरी १ घण्टा १४ मिनेट ७ सेकेन्डमा पूरा गरेर उपाधि हात पारेका हुन्। त्यस्तै, प्रकाशसिंह ऐर १ घण्टा १७ मिनेट ५० सेकेन्डमा उक्त दूरी पार गरेर दोस्रो भए। सुनिल थापा मगर १ घण्टा ३२ मिनेट ३० सेकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भए।
प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१ हजार, १४ हजार र ७ हजार नगद तथा मेडल र प्रमाणपत्र प्राप्त गरे। नगद पुरस्कार, प्रमाणपत्र र मेडल लुम्बिनी विकास कोषका सद्भावना दूत तथा नेपालका लागि ग्रिसका अवैतनिक राजदूत विक्रम पाण्डेकाजीले वितरण गरेका थिए।
अर्को ७ किमी लामो क्याटगोरीको म्याराथनको उपाधि सन्तोषनाथ योगीले जितेका छन्। उनले उक्त दूरी २३ मिनेट ३८ सेकेन्डमा पार गरेका थिए। शिवशंकर थारु उक्त दूरी २७ मिनेट ४३ सेकेन्डमा पूरा गरेर द्वितीय भए। त्यस्तै, बलबहादुर राईले उक्त दूरी २९ मिनेट १९ सेकेन्डमा पूरा गरेर तृतीय भए। प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १४ हजार, ७ हजार र ५ हजार नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
लुम्बिनीस्थित विश्व शान्ति स्तूपबाट सुरु भएको प्रतियोगिता मायादेवी मन्दिरलाई फन्को मार्दै अखण्ड शान्ति दीपस्थित 'बेबी बुद्ध'मा पुगेर समापन भएको थियो।
कोरोनाले थलिएको पर्यटनलाई खेल पर्यटनको माध्यमबाट उकास्न सहयोग पुर्याउने उद्देश्यले 'बुद्ध सर्किट डट कम', काठमाडौँले म्याराथन आयोजना गरेको हो। यस वर्ष लुम्बिनी पिस मेडिटेसन म्याराथनलाई 'टेस्ट रन'का रूपमा 'सफ्ट लन्च' गरिएको हो।
आगामी वर्षदेखि व्यापक प्रचारप्रसार गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित प्रडक्टका रूपमा विकास गर्ने म्याराथनका परिकल्पनाकार विक्रम पाण्डेकाजीले बताए। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक पक्षहरू सम्झँदै दौडेर शान्तिको आध्यात्मिक ऊर्जा पाइने भएकाले यसलाई 'मेडिटेसन म्याराथन' भनिएको रेस डाइरेक्टर एवं ओलम्पियन बैकुण्ठ मानन्धरले बताए। प्रतियोगितामा न्युजिल्याण्डका एक विदेशी नागरिकसहित २५ जना सहभागी थिए।