
गजलकार जनक सन्यालको पहिलो गजलसंग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ ।
आइतबार कीर्तिपुरमा आयोजित विशेष समारोहमा मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाहले कृतिको विमोचन गरेका हुन् ।
समारोहमा वक्ताका रूपमा कथाकार शाह, रेनुका शोलु, पूर्ण रावल र भरत रोदनले ‘भीरफूल’ले समकालीन नेपाली गजलमा पृथक् स्वर र संवेदनाको उपस्थिति जनाएको बताए ।
उनीहरूले जनक सन्यालका गजलमा प्रवासी जीवनका अनुभूति, सामाजिक परिवेश, संघर्ष र मानवीय भावना सशक्त रूपमा अभिव्यक्त भएको उल्लेख गरे ।
संग्रहमा १२३ वटा गजल समावेश छन् । बहर, गैरबहर तथा खस भाषामा लेखिएका गजल समेटिएको उक्त कृतिमा विविध जीवनानुभूति र समयको प्रतिबिम्ब प्रस्तुत गरिएको छ ।
रोजगारीका सिलसिलामा सानै उमेरमा दक्षिण कोरिया पुगेका जनक सन्याल लामो समयदेखि नेपाली भाषा तथा गजल साहित्यमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनी कोरियन भाषा प्रशिक्षकसमेत हुन् ।