०२ साउन २०८३, शनिबार

घरघरमै पुग्न थाल्यो राहदानी सेवा

बैशाख ३०, २०८३
चितवन
घरघरमै पुग्न थाल्यो राहदानी सेवा

सरकारको नीतिअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी मङ्गलबारदेखि हुलाक कार्यालयमार्फत घरघरमा वितरण सुरु गरिएको हो ।

जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमै राहदानी हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरिएको हो ।

 बुधबार १९ वटा र मङ्गलबार ४४ वटा राहदानी विभिन्न पालिकामा पठाइएको छ । मङ्गलबार मात्रै १२ वटा राहदानी घरमै पुर्‍याएर वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला हुलाक कार्यालयले छवटा पालिका हुलाक तथा भरतपुर महानगरपालिकाका तीनमध्ये दुई हुलाक काउन्टरमा राहदानी पठाएको छ । साथै जिल्लाका विभिन्न पालिकामा रहेका १२ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत पनि सेवा विस्तार गरिएको छ । 

भरतपुर महानगरपालिकामा पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी आएपछि सेवाग्राहीको ठेगानाअनुसार नजिकको हुलाक कार्यालयमा पठाइन्छ । त्यसपछि हुलाक कर्मचारीमार्फत घरमै राहदानी पुर्‍याइने व्यवस्था गरिएको हो ।

राहदानी आवेदन फारम भर्दा ‘कहाँबाट लिने’ भन्ने विकल्पमा घरमै वितरण सेवा रोजेपछि सोहीअनुसार सेवा उपलब्ध हुने कार्यालयले जनाएको छ । घरमै राहदानी पुर्‍याउने सेवाका लागि अतिरिक्त रु ५५ शुल्क लाग्नेछ । राहदानीसँगै भुक्तानीको रसिद पनि पठाइने बताइएको छ ।

जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्