
काठमाडौं, २३ पुस — चारा घोटालाको एक मुद्दामा राँचीको सीबीआई अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।
गत २३ डिसेम्बरमा लालुलाई यस मुद्दामा जेल पठाइएको थियो । त्यसदिनदेखि ६ जनवरीसम्म १४ दिनमा लालुलाई अदालतमा धेरैपटक पेश गरियो भने कतियप अवसरमा भिडियो कन्फेरेन्सिङमार्फत सुनुवाइ पनि भयो । अदालतमा सुनुवाइ हुँदा लालुले न्यायाधीशसँग आफ्नै शैलीमा रमाइला कुरा गरिरहे ।
लालुले न्यायाधीशलाई जेलमा भइरहेको समस्याका बारेमा बताए । सीबीआईका विशेष न्यायाधीश शिवपाल सिंहले लालुका सबै प्रश्नको जवाफ दिए । केही रमाइला कुराकानी यस्ता छन् :
लालु : हजुर, जेलमा जाडो हुन्छ अनि अरू समस्या पनि छ ।
न्यायाधीश : तपाईं तबला, हार्मोनियम बजाउनुस् । अरू कैदीले पनि तपाईंबाट प्रेरणा लिन्छन् ।
लालु : हजुर, जेलमा परिवारका मानिसलाई भेट्न दिइरहेका छैनन् ।
न्यायाधीश : त्यसैले त मैले भनेको नि, अदालत आउने गर्नुस् । सबैलाई भेट्न पाउनुहुन्छ ।
लालु : मैले के गरेको छु र ? मपछि तीन तीनजना मुख्यमन्त्री आए र गए ।
न्यायाधीश : सन् १९९० देखि २००० सम्म तपाईं नै मुख्यमन्त्री तथा अर्थमन्त्री हुनुहुन्थ्यो । तपाईंले आड दिएर नै भिजिलेन्स पनि जथाभावी गरेको हो ।
लालु : हजुर, दिमाग ठन्डा राख्दा सबै कुरा ठीक हुन्छ ।
न्यायाधीश : दिमाग ठन्डा राख्नै सकिरहेको छुइनँ ।
लालु : हजुर हेर्नुहोला, म शान्तिपूर्वक बस्छु । कुनै होहल्ला हुने छैन ।
न्यायाधीश : हो, जेलमा पढ्नुस्, डिग्री लिनुस् । मानिसहरूका लागि उदाहरणीय बन्नुस् ।
लालु : म पनि वकिल हुँ । उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म मेरो रजिस्ट्रेसन छ ।
न्यायाधीश : तपाईं आफ्नो डिग्री ल्याउनुस् । फाइदा पनि हुनसक्छ, हानि पनि ।
लालु : हजुर, जेलमा दुई न्यायाधीश पनि बन्द छन् । उनीहरूको सुविधालाई कसले ध्यान दिन्छ ?
न्यायाधीश : उनीहरूको मुद्दा हाम्रोमा छैन, हामी केही गर्न सक्दैनौं ।
लालुका वकिल : अभियुक्त बिरामी छन्, बूढा छन् । सजायमा लचिलो हुनुहोला ।
न्यायाधीश : बहादुरी वा वीरताको कुनै प्रमाणपत्र भए ल्याउनुहोला ।
सजाय सुनाउनुअघि न्यायाधीशले भने, ‘यिनीहरूलाई खुला कारागार सबभन्दा उपयुक्त हुन्छ किनकि यिनीहरूसँग गाई पालेको अनुभव छ ।’
एजेन्सी