०८ साउन २०८३, शुक्रबार

मानसरोवर जाने भारतीय तीर्थालुको संख्या बढ्दै, चार दिनमा १६९ जना हुम्ला पुगे

जेठ ३, २०८३
हुम्ला
मानसरोवर जाने भारतीय तीर्थालुको संख्या बढ्दै, चार दिनमा १६९ जना हुम्ला पुगे

वर्षायाम शुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाक्लिन थालेको छ । 

सिजन शुरू भएपछि नेपालगञ्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाश पर्वतको दर्शन गर्ने पर्यटकको संख्या बढ्न थालेको हो । चार दिनमा मात्र १६९ जना पर्यटक हुम्ला आइपुगेका छन् । 

हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । उनका अनुसार वैशाख ३० गतेदेखि आउन शुरू गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् । 

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन् । 

गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन् । 

मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन शुरू भएको चार दिनको संख्या हेर्दा सो संख्या बढ्ने विश्वास गरिएको छ । 

२०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन शुरू भएको थियो । बीचमा कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो । 

गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिकयात्रा गरेका थिए । यस वर्ष गत वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका थिए ।     

salt training

कमेन्ट गर्नुहोस्