
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
उचित व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो ।
००००
नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्न चाहेको बताएका छन् । कसैलाई वरिष्ठ बनाउन परे त्यसका लागि पनि तयार रहेको उनले बताए ।
प्रजातान्त्रिक विकास समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले निर्वाचन समिति, सदस्यता समिति लगायत संरचनामा पनि इतर समूहलाई सहभागी गराउने बताएका हुन् ।
००००
नेपालको प्रशासनिक इतिहासमा एउटा यस्तो मोड आएको छ, जसले ८ वर्षदेखि कर्मचारीतन्त्रमा रहेको अन्योललाई सधैंका लागि चिरिदिएको छ ।
कर्मचारी समायोजन र प्रदेशको अधिकारलाई लिएर सर्वोच्च अदालतले एउटा यस्तो ऐतिहासिक फैसला सुनाएको छ, जसले संघीयताको मर्मलाई नयाँ उचाइ दिएको छ ।
फैसलाको मुख्य सन्देश छ- ‘एकपटक समायोजन भएर प्रदेशमा गएपछि कर्मचारीको संघीय कानूनसँगको नाता तोडिन्छ ।’अब प्रदेशले आफ्नो सेवालाई गुणस्तरीय बनाउन संघीय कानूनमा नभएका थप शर्त वा तालिम अनिवार्य गर्न पाउनेछ ।
'संघीय निजामती सेवा ऐन' रोकेर बसेको सिंहदरबार र संघीय संसद्लाई अदालतले कसरी दह्रो झापड हानेको छ भन्ने कुरा यहाँ विस्तारमा चर्चा गर्दैछौं ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापासहितको पूर्ण इजलासले सरकारलाई प्रस्ट आदेश दिएको छ- ‘प्रशासनिक संघीयतालाई बन्धक नबनाऊ, यथाशक्य चाँडो संघीय निजामती ऐन जारी गर ।’
००००
नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
००००
गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबार अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ ।
००००
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना सदस्यहरू मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम सभापति थापाले पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरेका हुन् । मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्।
००००
नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना विमानचालक (पाइलट) सहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ।
निगमको सञ्चालक समितिको निर्णयअनुसार मानव संशाधन विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई आफ्नो बचाउका लागि सफाई पेश गर्न अन्तिम मौका दिएको हो।
००००
सरकारले देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन मागेको हो।
००००
स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार ५०० र चाँदी ३३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ६० कायम भएको छ ।
००००
काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष भरतलाल श्रेष्ठले पाएका छन् । काठमाडौँ महानगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख रहेकी सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ गएसँगै श्रेष्ठलाई कार्यवाहक दिइएको हो ।
००००
कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
५६ वर्षीय शेर्पाले आइतबार बिहान १०: १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् । यो उनको नयाँ रेकर्ड हो ।