०८ असार २०८३, सोमबार

११ करोड दिनुस्, फुलटाइम पब्लिसिटीमा हिँड्छु : प्रियंका

११ करोड दिनुस्, फुलटाइम पब्लिसिटीमा हिँड्छु : प्रियंका

आइतबार बटरफ्लाई प्रेसमिटमा प्रियंका कार्की केही डिफेन्सिभ सुनिइन् । प्रायः सिनेमा प्रचारमा नहिँड्ने भनेर आरोप खेपिरहेकी उनले नेपाली फिल्मलाई नेपाली फिल्मकै रुपमा बुझ्न र भारतीय सिनेमा उद्योग बलिउडसँग तुलना नगर्न सुझाइन् ।

‘यदि मलाई कोही प्रोड्युसरले ११ करोड दिनुहुन्छ भने मरिमेटेर पब्लिसिटीमा हिँड्न तयार छु’ कार्की भन्छिन्, ‘म पनि संघर्ष गरिरहेकी अभिनेत्री हुँ । संक्रमणकै समयमा छु । स्टेरियोटाइप ब्रेक गर्न प्रयत्न गरिरहेकी छु । कृपया बलिउडसँग तुलना नगरिदिनुहोला ।’

उनको तर्क सुन्दा लाग्छ, पैसाकै लागि कलाकार पब्लिसिटीमा हिँड्छन् र बाध्यता पनि । यसबारे उनलाई प्रेसमिटमा थप प्रश्न पनि तेर्साइए । ‘पढेलेखेकाले फिल्म गर्दैनन् भन्ने दृष्टिकोणलाई चेन्ज गर्न चाहन्छु’ उनी भन्छिन् । निश्चित समूहको फिल्म किन खेल्नुहुन्छ भनेर सोधिएको अर्को जिज्ञासामा उनले आफ्नो क्षमतालाई चिनेर अनुबन्धित गरिएको रुपमा व्याख्या गरिन् । 

प्रियंकाले बटरफ्लाइमार्फत पहिलोपटक आफू प्रेमकथा विषयवस्तु भएको सिनेमामा उत्रिएको बताइन् । ‘मेरा लागि लभस्टोरी फिल्म पहिलो हो र सहरिया युवती पनि’ उनले सिनेमाबारे बताइन् । भावनात्मक र जटिल प्रेमलाई सिनेमाले चित्रण गर्ने उनको कथन छ । 

लगातार फिल्म खेलिरहेको भन्ने आरोपको उनले खण्डन गरिन् । ‘कलाकारको काम राम्रो स्क्रिप्ट र चरित्र चित्रण हो’ भन्छिन्, ‘फिल्म बनाउने र रिलिज गर्ने काम निर्माताको हो । हामीले सहि टाइममा फिल्म गरेका हुन्छौं तर टाइममै फिल्म लाग्दैन । स्टकमा बस्न पुग्छ र पछि हामीलाई समस्या हुन्छ ।’

अभिनेता आर्यन अधिकारीको यो दोस्रो सिनेमा हो । एक्सन, रोमान्स र थ्रीलरजस्ता तत्व फिल्ममा समावेश भएकाले दर्शकले रुचाउने आशा उनले व्यक्त गरे । 

निर्देशक ओम गुरुङ प्रतीकले राज्जा रानीकै कथावस्तु भएकाले पाल्पाको रानीमहलमा फिल्म छायांकन गरिएको बताए । कथावाचनको शैली पुरानै भएको भन्ने आरोपको उनले खण्डन गरे । बटरफलाइ २८ पुसमा रिलिज हुँदैछ । उक्त मितिमा दयाहाङ राई स्टारर मिस्टर झोले समेत प्रदर्शन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्