
काठमाडौं, २४ पुस– सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुख तोक्ने भएको छ । प्रदेश प्रमुख तोक्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दैछ । कानून मन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश प्रमुखको नियुक्तिका विषयमा प्रधानमन्त्री शेरबहादुरले अन्य दलहरुसंग पनि परामर्श गरिरहेका छन् ।
मन्त्री थापाले पूर्व प्रशासक, विज्ञ, उच्च पदमा काम गरेर अनुभव लिएका सेवा निवृत्त व्यक्तिहरुबाटै प्रदेश प्रमुख तोक्ने गरी सरकारले गृहकार्य गरिरहेको बताए । पूर्वप्रधान सेनापति रुक्माङगत कटवाल, म्यागासेसे पुरस्कार विजेता महाविर पुन, सिएनएन हिरो माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल तथा राम नगिना सिंहको नाम चर्चामा छ ।
ओली–प्रचण्ड वार्ता– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार वार्ता भएको छ । ओली निवास बालकोटमा २ घण्टा चलेको वार्तामा दुबै अध्यक्ष एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सहमत भएका छन् ।
छलफलमा दुबै अध्यक्षले एकता प्रक्रियालाई भाँड्न षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति चनाखो बन्दै छिट्टै टुंगोमा पुग्नुपर्नेमा समेत जोड दिएका थिए ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको प्रतिक्रिया दिए ।
प्रचण्डले बैठकपछि भने, ‘सोमबार एमाले र हाम्रो पार्टीको बैठक बसि आन्तरिक छलफल गरेर मंगलकार एकता संयोजन समितिको बैठक बस्छ।’ समितिको बैठकबाट वैचारिक राजनीतिक र सांगठनिक विषय हल गर्न अर्को टीम बनाएर जाने पनि प्रचण्डले बताए ।
निर्वाचन खर्च– मंसिर १० र २१ गते भएको निर्वाचनमा कुल बजेटको ५८ प्रतिशत रकम खर्च भएको छ । निर्वाचन आयोगले आइतबार सार्वजानिक गरेको निर्वाचन खर्चको विवरण अनुसार निर्वाचनका लागि छुट्टाइएको कुल बजेटको ५७.९६ प्रतिशत रकम खर्च भएको हो ।
आयोगका अनुसार पुस २१ गतेसम्म ५ अर्र्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपैयाँ खर्च भएको छ ।
जसमा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लाहरूमा खर्च भएको र ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ आयोगको केन्द्रीय कार्यालयबाट खर्च भएको आयोगले जनाएको छ ।
अख्तियारमा बयान सुरु– नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका निगमका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन शुरु गरेको छ । अख्तियारले शुरुमा निगमका प्रबन्धक तथा आठौं तहका कर्मचारी पुष्कर कार्कीसँग वयान लिएको हो ।
कार्कीसँगै अख्तियारले निगमका अन्य उच्च अधिकारीको पनि वयान लिने तयारी गरेको छ । अख्तियारले निगम अधिकारी र सञ्चालक समितिका सदस्य गरी करिब ३५ जनालाई वयानको सूचीमा राखेको जनाएको छ ।
कडा खालको खोकी देखियो– काठमाडौं उपत्यकामा कडा खालका खोकीका बिरामी बढ्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार अहिले देखिएको खोकी सामान्य एन्टीबायोटिकले नछुने र लामो समयसम्म निको नहुने खालको छ ।
अन्य दिन करीब १५ जना बिरामी परीक्षणका लागि आउने गरेकोमा हाल बढेर २५ को हाराहारीमा उपचारका लागि आउने गरेको अस्पताललले जनाएको छ । हाल देखिएको खोकीले २–३ हप्तासम्म सताउने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।
सर्वोच्चको आदेश– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार निर्देशनात्मक आदेश गरेको हो । कार्यकाल सकिन ६ दिन बाँकी रहेको बेला सर्वोच्चको आदेशसँगै शर्मा पुनःवहाली हुन पाउने भएका छन्।
सिरोहियाविरुद्ध मुद्दा दायर– व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । सुमार्गीले आइतबार काठमाडौं जिल्ला अदालतमा सिरोहियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।
व्यावसायिक तथा सामाजिक साखमा मानमर्दन गरेर मानप्रतिष्ठामा आँच पुर्याएको तथा व्यक्तिगत चरित्रहत्या गरेको दाबीसहित सुमार्गीले २५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
दुईजना कर्मचारी पक्राउ– दाङको लमही नगरपालिकामा कार्यरत दुई जना कर्मचारी ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली घुस रकमसहित पक्राउ परेको अख्यिारको क्षेत्रीय कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ।
यसअघिदेखि नै घर नक्सा अभिलेखिकरणको काममा उनीहरूले सेवाग्राहीबाट घुस लिँदै आएको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय कोहलपुरका सूचना अधिकारी चिरञ्जिवी शर्माले बताए ।
रुपन्देही बन्द फिर्ता– युवा व्यवसायी वसन्त पौडेललाई गोली हानी हत्या गरेको विरोधमा दुई दिनदेखि जारी रहेको रुपन्देही बन्द आइतबारबाट फिर्ता भएको छ । पीडितपक्ष, सर्वदलीय संयन्त्र र प्रहरी प्रशासनबीच भएको सहमतिपछि अपराह्न ५ बजेबाट बन्द फिर्ता भएको हो ।
पौडेललाई सहिद घोषणा गर्न सिफारिस गर्ने, दोषीलाई छिटोभन्दा छिटो पक्राउ गर्ने र शान्ति सुरक्षा कायम गर्ने सहमति भएको छ ।
सिट संख्या सदर– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले एमबीबीएस भर्नाका लागि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले निर्धारण गरेको सिट संख्या सदर गरेको छ । त्रिवि परिषदको यो निर्णयसँगै एमबीबीएस अध्यनका लागि नयाँ भर्नाको बाटो खुलेको छ ।
आइओएमले महाराजगञ्ज मेडिकल कलेजको ७६, किष्ट मेडिकल कलेज ललितपुरको ९०, गण्डकी मेडिकल कलेज पोखराको ९०, नेसनल मेडिकल कलेज वीरगञ्जको ९०, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १००, चितवन मेडिकल कलेजको ९०, युनिभर्सल मेडिकल कलेज भैरहवाको १०० र जानकी मेडिकल कलेज जनकपुरको ८० सिट निर्धारण गरी त्रिविमा पठाएको थियो ।
विदेशका खबर– दक्षिण कोरियासँग हुने उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले आफ्नो वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले यो जानकारी दिएको हो ।
आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ ।
खेल खबर– १६ औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सुपरलिगको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको सुपरलिगको पहिलो खेलमा आर्मीले पुलिसलाई ४–१ ले पराजित गरेको हो । आर्मीको लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइबाले २–२ गोल गरे । पुलिसका लागि घीमकुमारी गुरुङले एक गोल गरिन् ।