
काठमाडौं, २४ पुस — हलिउडको प्रतिष्ठित पुरस्कारमध्ये एक गोल्डेन ग्लोब अवार्डमा थ्री बिलबोर्ड्स आउटसाइड एब्बिङ, मिसुरीले सर्वोत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।
स्थानीय समयअनुसार आइतवार राति सम्पन्न यो अवार्ड सेरेमोनीमा उक्त फिल्मकी अभिनेत्री फ्रान्सेस मक्डोर्मान्डले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
सर्वोत्कृष्ट निर्देशकको अवार्ड चाहिँ द शेप अफ वाटरका लागि गिलेर्मो देल तोरोले प्राप्त गरे ।
त्यस्तै ड्रामा क्याटेगोरीमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार द डार्केस्ट आवरका लागि गेरी ओल्डम्यानले प्राप्त गरे । उनले फिल्ममा बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको भूमिका निर्वाह गरेका छन् ।
अन्य अवार्डमा सर्वोत्कृष्ट एनिमेटेड फिल्ममा कोकोले विजय प्राप्त ग-यो । विदेशी भाषाको फिल्ममा जर्मन फिल्म इन द फेड सर्वोत्कृष्ट ठहरियो ।
हलिउडमा महिलाहरूमाथि भएका यौन दुर्व्यवहारलाई अवार्ड सेरेमोनीले हाइलाइट गरेको थियो । सबै पुरुष तथा महिला कलाकारले कालो पहिरन लगाएर यौन दुर्व्यहार तथा महिलामाथि तलबमा भेदभावको सांकेतिक विरोध गरेका थिए ।
तर सर्वोत्कृष्ट निर्देशकको सूचीमा एकजना पनि महिला नपरेको भन्दै अवार्ड सेरेमोनीमा व्यंग्य गरिएको थियो ।
फिल्म तथा टीभीमा अतुल्य योगदान गरेबापत ओप्रा विन्फ्रेलाई प्रतिष्ठित सेसिल डी मिल अवार्ड दिइएको थियो । अवार्ड ग्रहण गरेपछि विन्फ्रेले महिलालाई थप सशक्त बनाउनुपर्ने र यौन दुर्व्यवहारबाट सुरक्षित राख्नुपर्ने धारणा व्यक्त
गरेकी थिइन् ।
हलिउड फरेन प्रेस एसोसिएसनले प्रत्येक वर्षको पहिलो आइतवार आयोजना गर्ने गोल्डेन ग्लोब अवार्डले सुप्रसिद्ध अस्कर अवार्डको पूर्वसंकेत दिने गर्छ । गोल्डेन ग्लोबमा टेलिभिजनका सिरियलहरूलाई पनि पुरस्कृत गरिन्छ । यस वर्षको बेस्ट टीभी सिरियल ड्रामा द ह्यान्डमेड्स टेलले प्राप्त ग-यो ।