
चालु आर्थिक वर्षको यही जेठ ६ गतेसम्म सत्यता नै नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।
सम्पादक समाज नेपालले आइतबार आयोजना गरेको ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा यसबारेमा जानकारी दिइयो । काउन्सिलमा दर्ता भएका उजुरीमध्ये दोस्रो सबैभन्दा बढी मानहानी सम्बन्धी रहेका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार तोया गौतमले सूचना विभागमा आठ हजारभन्दा बढी पत्रपत्रिका स्थायी रूपमा दर्ता भए पनि करिब पाँच हजारमात्र प्रकाशन भएर प्रेस काउन्सिल नेपालमा वर्गीकरणका लागि पुगेका जानकारी दिए । पत्रकारले समयअनुसार परिवर्तित प्रविधिको उपयोग गरेर पनि गुणस्तरीय पत्रकारिता गर्न सकिने उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।