२७ जेठ २०८३, बुधबार

नेविसंघका ६ विद्यार्थी नेता पक्राउ, तत्काल रिहा गर्न कांग्रेसको माग

जेठ १८, २०८३
काठमाडौं
नेविसंघका ६ विद्यार्थी नेता पक्राउ, तत्काल रिहा गर्न कांग्रेसको माग
फाइल तस्वीर ।

नेपाली कांग्रेसले सिंहदरबारस्थित दक्षिण गेटमा प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रहरीले नेविसंघमा आबद्ध राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गर्नु निन्दनीय भएको उल्लेख गरेको छ । 

विज्ञप्तिमा संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै गरिएको गिरफ्तारी लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको पनि उल्लेख छ । कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले विरोध गर्दै आएका छन् । 

सोही विषयलाई लिएर नेविसंघले सोमबार सिंहदरबार क्षेत्रमा प्रदर्शन गरेको थियो ।

- यसअघि यही समाचारको कभरमा असम्बन्धित तस्वीर परेकाले सच्याइएको छ । - सं

salt training

कमेन्ट गर्नुहोस्