२८ जेठ २०८३, बिहीबार

युक्रेनका विभिन्न शहरमा रुसको व्यापक आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

जेठ १९, २०८३
काठमाडौं
युक्रेनका विभिन्न शहरमा रुसको व्यापक आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । पछिल्ला केही महिनायता मस्कोले गरेको यो सबैभन्दा ठूलो आक्रमणमध्ये एक मानिएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा मध्य युक्रेनको ड्निप्रो शहरमा नौ जना र राजधानी किएभमा चार जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्ति घाइते भएका छन्, जसमा बालबालिका पनि रहेका छन् ।

मंगलबार बिहानै गरिएको आक्रमणमा आवासीय भवन लक्षित भएपछि उद्धार टोली भग्नावशेषमुनि पुरिएका हुन सक्ने व्यक्तिहरूको खोजीमा जुटेका छन् । आक्रमणपछि युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।

रुसी रक्षा मन्त्रालयले भने उक्त आक्रमण युक्रेनले यसअघि गरेका आक्रमणको जवाफ भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्धारित सबै सैन्य लक्ष्यहरू सफलतापूर्वक पूरा भएको दाबी गरेको छ ।

गत साता रुसले पूर्वी युक्रेनको आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अवस्थित विद्यार्थी छात्रावासमाथि युक्रेनले घातक आक्रमण गरेको आरोप लगाउँदै ‘व्यवस्थित र निरन्तर’ आक्रमण गर्ने चेतावनी दिएको थियो ।

युक्रेनी राष्ट्रपति भ्लोदिमर जेलन्स्कीले सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै ठूलो आक्रमण हुन सक्ने चेतावनी दिएका थिए र नागरिकलाई हवाई आक्रमणसम्बन्धी सूचनामा विशेष सतर्क रहन आग्रह गरेका थिए ।

मंगलबार बिहान उनले रुसले रातभरमा ६५६ वटा आक्रमणकारी ड्रोन र ७३ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिए । तीमध्ये ब्यालिस्टिक, क्रुज तथा जहाजविरोधी क्षेप्यास्त्र समेत प्रयोग गरिएको उनको भनाइ छ ।

जेलन्स्कीले रुसी आक्रमण रोक्नका लागि अमेरिकासँग प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्र तत्काल आवश्यक रहेको बताएका छन् । रुसका क्षेप्यास्त्र अवरोध गर्न प्रयोग हुने प्याट्रियट प्रणालीका लागि आवश्यक मिसाइलको अभाव देखिएको उनले उल्लेख गरेका छन् ।

अमेरिका र इजरायलको इरानविरुद्धको युद्धका कारण पनि प्याट्रियट मिसाइलको उपलब्धतामा थप दबाब परेको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले युक्रेनलाई प्रत्यक्ष सैन्य आपूर्ति बन्द गरेकाले युरोपेली सहयोगी राष्ट्रहरूले अमेरिकाबाट खरिद गरेर युक्रेनलाई उपलब्ध गराउँदै आएका छन् ।

आक्रमणपछि किएभको केन्द्रभागबाट बाक्लो धुवाँको मुस्लो उठेको देखिएको थियो । राजधानीको सैन्य प्रशासनले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ भने त्यहाँका मेयरले नागरिकलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गरेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार रातभर दर्जनौं ठूलो विस्फोटको आवाज सुनिएको थियो । ड्रोनहरूको आवाजसँगै लगातार भएका विस्फोटले राजधानीका विभिन्न क्षेत्र प्रभावित बनेका थि ए।

आक्रमणका कारण पेट्रोल पम्प नजिक, निर्माणाधीन संरचना, धेरै आवासीय भवन तथा दुई वटा घरमा आगलागी भएको छ । शहरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ ।

उत्तरपूर्वी शहर खार्किभमा पनि ड्रोन र क्षेप्यास्त्र आक्रमण हुँदा एक बालकसहित १० जना घाइते भएको मेयर इहोर तेरेखोभले बताएका छन् । दक्षिणी क्षेत्र जापोरिझ्झियामा एउटा औद्योगिक प्रतिष्ठान समेत आक्रमणको निशानामा परेको छ ।

युक्रेनी वायुसेनाले रुसले रातभर ६५० भन्दा बढी ड्रोन र ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। तीमध्ये ६४२ वटा आक्रमणकारी हतियार खसालिएको दाबी गरिएको छ ।

गत मे महिनामा छोटो युद्धविराम समाप्त भएयता रुसले किएभमाथि पटक–पटक ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ । तीमध्ये एक आक्रमणमा आवासीय भवनमा क्षेप्यास्त्र खस्दा तीन बालबालिकासहित २४ जनाको मृत्यु भएको थियो ।

त्यसको केही दिनपछि युक्रेनले मस्को क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको थियो । रुसी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । त्यसबारे प्रतिक्रिया दिँदै राष्ट्रपति जेलन्स्कीले त्यसलाई ‘पूर्ण रूपमा जायज’ बताएका थिए ।

रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेपछि दुई देशबीच युद्ध जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्