
काठमाडौँ, २५ पुस- निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको खबर अन्नपूर्ण पोस्टमा छ ।
वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको नेताहरूले बताएका छन् ।
पौडेल पक्षकै सात युवा नेताले पनि सोमबारै कांग्रेसप्रति शुभेच्छा राख्ने बुद्धिजीवीसँग छलफल गरेका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा भएको छलफलमा नेताहरूले युवा समूहले अघि सारिरहेको विचारबारे छलफल गरेका थिए । पौडेलपक्षीय नेताहरू नवीन्द्रराज जोशी, दीपक गिरी, गुरुराज घिमिरे, गोविन्द भट्टराई, रामकृष्ण यादव, किरण यादव, सरिता प्रसाईंले बुद्धिजीवीहरू डा. जीवराज पोखरेल, डा. यज्ञ अधिकारी, अच्युत वाग्ले, श्रीकृष्ण अनिरुद्ध गौतम लगायतसँग छलफल गरेका हुन् ।