
काठमाडौं, २५ पुस– सर्वोच्च अदालतको मानहानी गरेको अभियोगमा सोमबार पक्राउ परेका डा. गोविन्द केसीलाई आज अदालतमा उपस्थित गराइँदैछ । उनलाई आदेशानुसार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराइन लागिएको हो । केसीलाई सोमबार राती पक्राउ गरेर प्रहरीले महानगरीय प्रहरी बृत्त सिंहदरबार राखेको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा केसी सोमबार अपराह्नदेखि अनशन बसेका थिए । अदालतविरुद्ध अभिव्यक्ति दिँदै अनसन सुरु गरेका उनलाई सर्वोच्चले पक्राउ पुर्जी जारी गरेको थियो ।
केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा केसीले अदालत विरुद्ध अभिव्यक्ति दिएका थिए ।
डा केसीले केही महिनादेखि अदालतमा सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।