
काठमाडौं, २५ पुस– डा. गोविन्द केसी पक्राउको चौतर्फी विरोध भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानै प्रदर्शन गरेका छन् ।
उनका समर्थकले राजधानीस्थित माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र लगायत सहभागी छन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् ।
अदालतको मानहानी गरेको आरोपमा सोमबार राति प्रहरीले डा. केसीलाई पक्राउ गरेको थियो । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । सर्वोच्चले मंगलबार केसीलार्इ अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।