
काठमाडौं, २५ पुस– सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीलाई आज अदालतमा उपस्थित गराइएको छ । सर्वोच्को आदेशअनुसार बिहान ९ बजे अगावै अदालत उपस्थित गराइएको हो ।
डा. केसीलाई प्रहरीले सोमबार राती पक्राउ गरेर महानगरीय प्रहरी बृत्त सिंहदरबार राखेको थियो । केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा केसी सोमबार अपराह्नदेखि अनशन बसेका थिए ।
प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिँदै अनसन सुरु गरेका डा केसीलाई सर्वोच्चले सोमवार नै पक्राउ पुर्जी जारी गरेको थियो ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन डा शशि शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध डा केसीले अनसन शुरु गरेका थिए ।
यता डा. केसीको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै बिहानै केसीका समर्थकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएर केसीका समर्थकहरुले केसीको पक्षमा प्रदर्शन गरेका थिए ।
माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र लगायत सहभागी थिए । कांग्रेस नेता थापाले अदालतको मान बढाउन आफूहरु सडकमा आएको बताए ।