२८ जेठ २०८३, बिहीबार

चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी

जेठ २७, २०८३
काठमाडौं
चक्कु प्रहारको भिडियो भाइरल भएपछि आयरल्यान्डमा हिंसात्मक प्रदर्शन, गाडी र घरहरूमा आगजनी

उत्तरी आयरल्यान्डमा अध्यागमन विरोधी प्रदर्शनले उग्र रूप लिएपछि व्यापक हिंसा भड्किएको छ। एक जना व्यक्तिमाथि भएको विभत्स चक्कु प्रहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उग्र-दक्षिणपन्थी कार्यकर्ताहरूले आह्वान गरेको आन्दोलन अन्ततः हिंसामा परिणत भएको हो।

इलोन मस्क र टमी रोबिन्सनलगायत सामाजिक सञ्जालका पपुलर व्यक्तिहरूले मानिसहरूलाई सडकमा उत्रिन उक्साएपछि मंगलबार राति बेलफास्ट र आसपासका क्षेत्रमा मुखुण्डो लगाएका प्रदर्शनकारीहरूको समूहले सवारी साधन र घरहरूमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेका हुन् । 

प्रदर्शनकारीहरूले पूर्वी बेलफास्टको न्यूटाउनार्ड्स रोडमा एउटा 'ग्लाइडर' बस नियन्त्रणमा लिएर जलाइदिएका छन् भने शङ्किल रोड र न्यूटाउनएबीमा कयौँ कारहरूमा आगो लगाएका छन्। आगजनीका कारण ती क्षेत्रहरू धुवाँको मुस्लोले ढाकिएका छन् भने साइरनको आवाजसँगै आकाशमा प्रहरीको हेलिकप्टरले गस्ती गरिरहेको दृश्य देखिएको छ।

सोमबार राति उत्तरी बेलफास्टमा एक व्यक्तिमाथि भएको साङ्घातिक आक्रमणको सम्बन्धमा प्रहरीले सुडानका एक ३० वर्षीय शरणार्थी (आश्रय खोज्ने व्यक्ति) माथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेलगत्तै यो अशान्ति शुरू भएको हो। उक्त चक्कु प्रहारबाट घाइते भएका ४० वर्षका ती व्यक्तिको अवस्था गम्भीर छ, जसका कारण आम नागरिक स्तब्ध र आक्रोशित बनेका छन्। पक्राउ परेका संदिग्धलाई बुधबार बेलफास्टको म्याजिस्ट्रेट अदालतमा उपस्थित गराइँदै छ।

प्रहरी सहायक प्रमुख कन्स्टेबल रायन हेन्डरसनले नागरिकहरूलाई शान्त रहन अपिल गरेका छन्। उत्तरी आयरल्यान्डका विभिन्न स्थानहरूमा छिटपुट रूपमा अशान्ति फैलिएको र सवारी साधनहरू जलाइएको पुष्टि गर्दै उनले सबैलाई संयम अपनाउन, जिम्मेवारीपूर्वक प्रस्तुत हुन र आफ्नो वा अरूको ज्यान जोखिममा पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। हेन्डरसनले स्थानीय समुदायका प्रभावशाली व्यक्तिहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि प्रोत्साहित गर्न र हिंसा वा विसङ्गतिलाई निरुत्साहित गर्न भूमिका खेल्न समेत अनुरोध गरेका छन्।

चक्कु प्रहारको घटना सोमबार राति साढे १० बजेतिर उत्तरी बेलफास्टको एउटा फ्ल्याट बाहिर भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक व्यक्तिले भुइँमा लडिरहेका अर्का व्यक्तिमाथि चढेर उनको टाउको र घाँटीमा लगातार प्रहार गरिरहेको देखिन्छ। प्रहरीले घटनास्थलबाट एउटा भान्छामा प्रयोग हुने चक्कु बरामद गरेको छ। आक्रमणबाट पीडित ४० वर्षका ती व्यक्तिको आँखा, अनुहार र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्