
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो विकेण्ड ऐतिहासिक र उत्सवमय बनेको छ । उनले आफ्नो ८० औँ जन्मदिन मनाइरहेकै दिन इरानसँगको ऐतिहासिक शान्ति सम्झौताको घोषणा गरेका छन् भने त्यसको केही घण्टापछि ह्वाइट हाउसमा एउटा ठुलो खेलकुद महोत्सवको आयोजनासमेत गरेका छन्।
अमेरिकाको आसन्न २५० औँ स्थापना दिवसको अवसरमा ह्वाइट हाउसको 'साउथ लन' मा 'युएफसी फ्रीडम २५०' खेलको आयोजना गरिएको छ। यो खेल हेर्न र आफ्नो जन्मदिन मनाउन ट्रम्प ह्वाइट हाउसमा व्यस्त रहे पनि उनले त्यहाँ कुनै औपचारिक मन्तव्य भने दिएनन् । यो उत्सव लगत्तै राष्ट्रपति ट्रम्प औद्योगिक राष्ट्रहरूको समूह 'जी-सेभेन'को वार्षिक शिखर सम्मेलनमा भाग लिन फ्रान्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
यसैबीच, एक अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार इरान सरकार ट्रम्पको जन्मदिन (अमेरिकी समय अनुसार आइतबार) कै दिन यो सम्झौताको घोषणा होस् भन्ने चाहँदैनथ्यो । इरानले तेहरानको समय अनुसार मध्यरातपछि (अर्थात् सोमबार) मात्रै घोषणा गर्न दबाब दिएको थियो । अन्ततः इरानको त्यो इच्छा आंशिक रूपमा पूरा भयो; घोषणा हुँदा इरानमा सोमबार भइसकेको थियो भने अमेरिकामा अझै आइतबार अर्थात् ट्रम्पको जन्मदिन नै बाँकी थियो ।