२८ असार २०८३, आइतबार
विश्वकपको रोचक कथा

जब फ्रान्सेली टोली अर्कै क्लबको जर्सी लगाएर मैदानमा ओर्लियो... !

असार २, २०८३
काठमाडौं
जब फ्रान्सेली टोली अर्कै क्लबको जर्सी लगाएर मैदानमा ओर्लियो... !

फुटबल विश्वकपमा हरेक राष्ट्रको जर्सीको विशेष महत्त्व हुन्छ । प्रत्येक देशको फुटबल संघले आफ्नो टोलीका लागि विश्वकपमा सबैभन्दा आकर्षक र अद्वितीय जर्सी तयार पार्न हरसम्भव प्रयास गरिरहेका हुन्छन् ।

खेलका क्रममा खेलाडी, रेफ्री र दर्शकले सजिलै एक–अर्कालाई चिन्न सकून् भनेर जर्सीको रङको छनोट पनि निकै महत्त्वपूर्ण हुन्छ । तर, सन् १९७८ को विश्वकपमा जर्सीसँगै जोडिएको एउटा अनौठो घटना भएको थियो ।

त्यतिबेला विश्वकप खेल्ने एउटा चर्चित राष्ट्रले अर्कै स्थानीय क्लबको जर्सी लगाएर मैदानमा ओर्लनु परेको थियो । त्यतिबेला टेलिभिजनमा खेल हेर्ने दर्शकका लागि ‘ब्ल्याक एण्ड ह्वाइट’ प्रविधि नै मुख्य आधार थियो ।

त्यसैले, यदि दुई टोलीले उस्तै गाढा रङका जर्सी लगाएर खेल्ने हो भने, दर्शकका लागि कुन खेलाडी कुन टोलीको हो भनेर छुट्याउन निकै कठिन हुन्थ्यो ।

यस्तै, जटिल अवस्था अर्जेन्टिनामा आयोजित सन् १९७८ को विश्वकपअन्तर्गत फ्रान्स र हंगेरीबीचको समूहगत चरणको अन्तिम खेलमा देखा पर्‍यो ।

प्रतियोगिताबाट बाहिरिसकेका यी दुई टोली आमने–सामने हुँदा फ्रान्स आफ्नो परम्परागत ‘निलो’ जर्सी र हंगेरी ‘रातो’ जर्सी लिएर ‘एस्टाडियो होजे मारिया मिनेला’ रंगशाला पुगेका थिए ।

null

तर, त्यतिबेला एउटा ठूलो भुल भयो । फ्रान्सेली टोलीका एक कर्मचारीको गल्तीका कारण दुवै टोलीका जर्सी एक–अर्कासँग जुधे । मैदानमा दुवै टोलीका खेलाडी उस्तै देखिने भएपछि आयोजक तनावमा परे ।

दुवै टोली आफ्नो परम्परागत जर्सी त्याग्न तयार थिएनन् । त्यसैले यो समस्यालाई समाधान गर्न ४० मिनेटभन्दा बढी समय लाग्यो । अन्तत: यो समस्याको समाधान एक अप्रत्याशित ठाउँबाट निस्किएको थियो ।

स्थानीय क्लब ‘क्लब एथलेटिको किम्बर्ली’ले आफ्नो हरियो र सेतो धर्का भएको जर्सी फ्रान्सेली टोलीलाई सापटी दियो ।

null

नयाँ र अपरिचित जर्सीमा मैदानमा ओर्लिएको फ्रान्सेली टोलीलाई आफ्नो परम्परागत जर्सी नभए पनि खेलमा भने कुनै असर परेन ।

फ्रान्सले उक्त खेलमा हंगेरीलाई ३–१ गोलले पराजित गर्दै विश्वकप यात्राको सु:खद अन्त्य गर्‍यो । उक्त विश्वकपमा फ्रान्सले जितेको त्यो एकमात्र खेल थियो ।

त्यसअघि, सन् १९५८ मा स्वीडेनमा आयोजित विश्वकपमा पनि जर्सीको विषयलाई लिएर यस्तै विवाद देखिएको थियो । त्यतिबेला आयोजक स्वीडेन र ब्राजिलबीच विवाद भएको थियो ।

null

त्यसपछि टस गरेर त्यो विवादको समाधान निकालिएको थियो । स्वीडेनले टस जितेर आफ्नो परम्परागत पहेँलो जर्सी रोजेपछि ब्राजिललाई जर्सीको समस्या परेको थियो ।

अन्तिम समयमा ब्राजिलका अधिकारीहरूले बजारबाट १३ वटा निलो टिसर्ट किनेर त्यसमा फिफाको ब्याज टाँसी मैदानमा उत्रिएका थिए । जुन पछि ब्राजिलको भाग्यमानी रङ नै बन्न पुग्यो ।

null

salt training

कमेन्ट गर्नुहोस्