०३ साउन २०८३, आइतबार

भारतीय सहयोगमा मुस्ताङमा गुम्बा विद्यालयको छात्रावास भवन निर्माण

असार २, २०८३
काठमाडौं
भारतीय सहयोगमा मुस्ताङमा गुम्बा विद्यालयको छात्रावास भवन निर्माण

भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।

सोमबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त दुईतले छात्रावास भवन चार वटा ब्लक तथा अन्य आवश्यक संरचनासहित तयार गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । परियोजना लोमन्थाङ गाउँपालिकामार्फत् कार्यान्वयन गरिएको हो ।

राजदूतावासका अनुसार लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बौद्ध शिक्षासँगै विद्यालयले नेपाल सरकारको शैक्षिक प्रणालीअनुसारको पाठ्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

null

उद्घाटन कार्यक्रममा राजदूत श्रीवास्तवले परियोजनासँग सम्बन्धित सबै पक्षलाई बधाई दिँदै साझा विकास र समृद्धिका लागि नेपाल सरकार तथा नेपाली जनतासँग सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ छात्रावास भवनले विद्यालयको आवासीय सुविधा र समग्र शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरिएका छन् । तीमध्ये गण्डकी प्रदेशमा ६३ तथा मुस्ताङ जिल्लामा १८ परियोजना रहेका छन् ।

null

यसअघि भारत सरकारले मुस्ताङ जिल्लाका विभिन्न संस्थालाई ११ एम्बुलेन्स र ६ वटा स्कूल बस उपलब्ध गराएको थियो । गण्डकी प्रदेशभर भने स्वास्थ्य तथा शिक्षा क्षेत्रका संस्थालाई १२६ एम्बुलेन्स र ५२ स्कूल बस उपहारस्वरूप प्रदान गरिएको राजदूतावासले जनाएको छ ।

राजदूतावासले भारत र नेपालबीचको बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास तथा समृद्धि प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्