०४ साउन २०८३, सोमबार
फिफा विश्वकप–२०२६

दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी केप भर्डेसँग रोकियो, समूह ‘एच’ को समीकरण रोमाञ्चक मोडमा

असार ८, २०८३
काठमाडौं
दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी केप भर्डेसँग रोकियो, समूह ‘एच’ को समीकरण रोमाञ्चक मोडमा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को एक नाटकीय र अत्यन्तै मनोरञ्जक खेलमा दुई पटकको पूर्व विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग २–२ गोलको रोमाञ्चक बराबरीमा रोकिएको छ । 

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले आफ्नो शुरूआती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएका हुन् ।

खेलको २१औं मिनेटमा केप भर्डेका केभिन पिनाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक अग्रता दिलाएका थिए । खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको लगत्तै, पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गरेपछि उरुग्वेले २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा केप भर्डेले पुनः खेलमा कमब्याक गर्‍यो । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरबिच तालमेल नमिल्दाको फाइदा उठाउँदै केप भर्डेका हेलियो भारेलाले गोल गरेर खेललाई २–२ को स्थितिमा पुर्‍याए । 

बल पोजिसन र सट्स प्रहारमा केप भर्डेभन्दा करिब दोब्बर अघि रहे पनि त्यसपछि उरुग्वेले थप गोल गर्न सकेन । खेलको अन्तिम समयमा केप भर्डेले केही 'कम्पोजर' गुमाउँदा जित्ने सुवर्ण अवसर गुमाए तापनि पूर्वविजेता देशविरुद्ध उसले निकालेको यो नतिजा आफैँमा उल्लेखनीय र ऐतिहासिक बनेको छ ।

यो नाटकीय खेलको समाप्तिसँगै समूह ‘एच’ मा २ खेलबाट ४ अङ्क जोड्दै स्पेन शीर्ष स्थानमा सुरक्षित छ । उरुग्वे र केप भर्डेले समान २ खेलबाट २–२ अङ्क जोडेका छन् । गोल अन्तर शून्य रहे पनि प्रहार गरेको गोल सङ्ख्याका आधारमा उरुग्वे दोस्रो र केप भर्डे तेस्रो स्थानमा छन् । साउदी अरेबिया भने १ अङ्कका साथ तालिकाको पुछारमा छ ।

यो नतिजाले समूह चरणका अन्तिम खेलहरूलाई निकै रोचक र निर्णायक मोडमा पुर्‍याइदिएको छ । अब आगामी शनिबार बिहान हुने खेलहरूमा केप भर्डेले साउदी अरेबियाको सामना गर्नेछ भने उरुग्वेले युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

साउदी अरेबियाविरुद्ध मैदान उत्रँदा केप भर्डेको टोली उच्च मनोबलका साथ 'लास्ट ३२' मा पुग्ने लक्ष्यमा हुनेछ । साउदी अरेबियालाई पराजित गर्न सकेको खण्डमा केप भर्डे शीर्ष दुईमा रहँदै नकआउट चरणमा पुग्ने बलियो सम्भावना छ।

अर्कोतर्फ, बलियो उरुग्वेका लागि भने विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिने खतरा बढेको छ । अर्को चरणको यात्रा सुरक्षित गर्न उरुग्वेलाई स्पेनविरुद्ध स्पष्ट जितको आवश्यकता पर्नेछ, यद्यपि खेल बराबरी भएमा पनि अन्य समीकरणका आधारमा उसको सम्भावना रहन सक्छ । 

यदि केप भर्डेले साउदी अरेबियाविरुद्ध उरुग्वेले स्पेनविरुद्ध निकाल्ने नतिजाभन्दा राम्रो परिणाम निकाल्न सक्यो भने केप भर्डे समूहको दोस्रो स्थान कब्जा गर्दै इतिहास रच्ने दाउमा रहनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्