१७ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

नारायणकाजीसँग अख्तियारको बयानदेखि रास्वपाको नेतृत्व सर्वसम्मत चयन गर्ने तयारीसम्म

असार ८, २०८३
काठमाडौं
नारायणकाजीसँग अख्तियारको बयानदेखि रास्वपाको नेतृत्व सर्वसम्मत चयन गर्ने तयारीसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र शुरू हुँदै छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबारदेखि शुरू हुन लागेको हो ।

बन्दसत्रपछि मंगलबारदेखि निर्वाचन प्रक्रिया शुरू हुने रास्वपाले जनाएको छ । यद्यपि रास्वपाले सर्वसम्मत नेतृत्व चयनको तयारी गरेको छ । रास्वपाको सभापतिमा रवि लामिछाने नै निर्विकल्प रहेको बताइएको छ । अन्य पदमा भने सहमति नभएमा चुनाव हुने बताइएको छ ।

नेतृत्व चयनअघिको बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछ । यसैगरी कोषाध्यक्ष, लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमा छलफल भएपछि महामन्त्री, कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । र, त्यसमा छलफल हुनेछ ।

००००

रास्वपाका शीर्ष नेताले सरकार राम्रोसँग चलिरहेको र आफूहरूबीच आशंका नरहेको प्रष्टीकरण दिएका छन् । आइतबार शुरू रास्वपाको पहिलो महाधिवेशनको उद्‌घाटनका क्रममा नेताहरूले आफूहरूबीच कुनै तिक्तता नरहेको दाबी गरेका हुन् ।

महाधिवेशनमा बोलाइएका अन्य दलका नेताहरूले रास्वपाको शीर्ष नेतृत्वमा खटपट ल्याउने कोशिश हुनसक्ने भनेर गरेको टिप्पणीको जवाफस्वरूप सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले कुनै असमझदारी नरहेको सन्देश दिएका हुन् ।

सभापति लामिछानेले चुनाव अघि गरेको सहमतिअनुसार सरकार सञ्चालनको जिम्मा बालेनको रहेको बताए । ‘हामीलाई लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास हुनेछ । तर सरकार सञ्चालन गर्नका लागि चुनाव अगाडि नै गरिएको सहमतिमा म प्रतिबद्ध छु,’ रविले भने, ‘बालेनको खुट्टामा बल छ, गोल हान्ने जिम्मा बालेन शाहको हो । झुक्किएर मेरोमा आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो ।’

००००

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले अख्तियारसँग ५ वर्षसम्म नै सोधपुछ तथा सरसल्लाह गर्ने बताएका छन् ।

रास्वपा महाधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै बालेनले सरकारी सम्पत्तिको दोहन भएको विषयमा अख्तियारसँग ५ घण्टा मात्रै नभएर निरन्तर सोधपुछ तथा सरसल्लाह गर्ने बताएका हुन् ।

‘विगतका दिन कुनै फट्याइ भएका छन् भने सरकारी सम्पत्तिको दोहन भएको छ भने अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष नै सोधपुछ र सरसल्लाह गरिन्छ,' उनले भने, 'हाउभाउ देख्दा अलिकति अनियन्त्रित देखिएला, तर कुनै चिज अनियन्त्रित छैन । हामीले कुनै नियम मिचेका छैनौं ।’

प्रधानमन्त्री बालेनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए ।

००००

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू एक दिन रास्वपाभन्दा अग्लो भएर देखाउने बताएका छन् ।

राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि एक-अर्कालाई कमजोर बनाएर अघि बढ्ने सोच नरहेको उनले बताए । ‘हामी प्रतिस्पर्धी हौं, दुस्मन होइनौं,’ रास्वपा महाधिवेशन उद्‌घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै उनले भने, ‘हामी अग्लो हुन चाहन्छौं, तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। तर, तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि, तपाईंहरूको खुट्टा काटेर होइन।’

००००

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले छोटो समयमै आन्दोलनको परम्परागत बाटो नअपनाई जनताको मन जितेर रास्वपाले ऐतिहासिक सफलता हासिल गरेको टिप्पणी गरे । सोही कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले पनि रास्वपालाई शुभकामना दिएका थिए ।

००००

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को एक नाटकीय र अत्यन्तै मनोरञ्जक खेलमा दुई पटकको पूर्व विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग २–२ गोलको रोमाञ्चक बराबरीमा रोकिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले आफ्नो शुरूआती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएका हुन् ।

००००

फिफा विश्वकपको समूह 'एच' अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले साउदी अरबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।

 एटलान्टा स्टेडियममा भएको खेलमा सानदार जित निकाल्दै स्पेन ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ।

००००

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक भिडन्तमा शानदार कमब्याक गर्दै इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को जित दर्ता गरेको छ । क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरावगमन गरेको हो ।

००००

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी हुन् ।

००००

राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।

श्रेष्ठसँग शुक्रबार झन्डै डेढ घण्टा बयान लिइएको आयोग स्रोतले जानकारी दियो ।

बयानका क्रममा श्रेष्ठले यस विषयमा आफूलाई केही पनि थाहा नभएको जवाफ दिएका थिए ।

राहदानी छपाइका लागि भएको ठेक्कामा अनियमितता भएको भन्दै आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

००००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको वर्तमान अवस्था र आगामी दिशाबारे धारणा सार्वजनिक गरेका छन्।

असार ५ र ६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो अनुपस्थितिको कारण स्पष्ट पार्दै नेताहरूले त्यसलाई पार्टीभित्र व्याप्त बेथिति, सङ्कुचित सोच र विधान विपरीतका गतिविधि विरुद्धको 'साङ्केतिक विरोध' भएको बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्