बैतडी, ११ माघ - मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरुवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे । उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको महसुल तिर्नै पर्छ भनेपछि उनी झन् समस्यामा परे,आजको गोरखापत्र दैनिकमा खबर छ ।

‘घरमा तीनवटा मात्रै चिम बाल्छु, मासिक ८० रुपैयाँ मात्रै बिल आउँथ्यो । दुई महिनापहिले एक हजार रुपैयाँको बिल आयो, यस्तै त होला नि भनेर तिरें । यो महिना त ३६ हजार पो आयो ’ उनले भने, ‘मजदुरी गरेर छाक टार्छु, महिनामा बिजुलीका मात्रै यतिधेरै पैसा कसरी तिर्नु ?’
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्ता थुप्रै गुनासो उठेको थियो । तर विद्युत वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवसितले मिटरमा उठेअनुसार पैसा तिर्नै पर्ने बताए ।