२३ असार २०८३, मंगलबार
बढ्यो ट्रम्पको सम्पत्ति

ह्वाइट हाउस फर्किएको पहिलो वर्षमै ट्रम्पले क्रिप्टोबाट कमाए १ अर्ब डलर

असार १७, २०८३
काठमाडौं
ह्वाइट हाउस फर्किएको पहिलो वर्षमै ट्रम्पले क्रिप्टोबाट कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।

सन् २०२५ का लागि सार्वजनिक गरिएको ९२७ पृष्ठ लामो अनिवार्य वित्तीय विवरणअनुसार ट्रम्पले आफूले पदभार ग्रहण गर्नुअघि सार्वजनिक गरेको ‘ट्रम्प मेम क्वाइन’बाट मात्रै ६३ करोड ५० लाख डलर रोयल्टी आम्दानी गरेका छन् । यद्यपि उक्त डिजिटल मुद्राको मूल्य त्यसयता उल्लेखनीय रूपमा घटेको छ ।

त्यस्तै, उनका छोरा तथा उनका विशेष दूत स्टिभ विटकोफका सन्तानले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’बाट ट्रम्पले ५० करोड डलरभन्दा बढी आम्दानी गरेको विवरणमा उल्लेख छ ।

क्रिप्टोबाहेक ट्रम्पले रियल इस्टेट व्यवसाय, गल्फ क्लब तथा आफ्नै ब्रान्डका घडी, बाइबल, जुत्ता, अत्तर र गिटार बिक्रीबाट पनि करोडौं डलर आम्दानी गरेका छन् । मार–ए–लागो क्लबबाट करिब ७ करोड ७० लाख डलर तथा फ्लोरिडास्थित डोराल गल्फ क्लबबाट १२ करोड २० लाख डलर आम्दानी भएको विवरणमा उल्लेख छ ।

वित्तीय विवरणअनुसार ट्रम्पले विभिन्न कानूनी मुद्दाको सम्झौताबाट पनि ८ करोड ६५ लाख डलर आम्दानी गरेका छन् । यसमा एबीसी, सीबीएस, मेटा, युट्युब र एक्ससँग भएका मुद्दाको सम्झौताबाट प्राप्त रकम समावेश छ । 

ह्वाइट हाउसका अनुसार तीमध्ये अधिकांश रकम ट्रम्पको भावी राष्ट्रपति पुस्तकालय र वासिङ्टन डीसी क्षेत्रका सार्वजनिक पार्क संरक्षणका लागि स्थापना गरिने गैरनाफामूलक संस्थामा जानेछ ।

ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले पनि सन् २०२५ मा वृत्तचित्रसम्बन्धी लाइसेन्स सम्झौताबाट १ करोड ७० लाख डलर तथा एनएफटी (डिजिटल सम्पत्ति) बिक्रीबाट ६० लाख डलर आम्दानी गरेको विवरणमा उल्लेख छ ।

ह्वाइट हाउसले भने ट्रम्पले राष्ट्रपतिको पदको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ । उपप्रेस सचिव एना केलीले ट्रम्पले आफ्ना व्यवसाय छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमा राखेकाले कुनै स्वार्थको द्वन्द्व नभएको दाबी गरिन् । उनका अनुसार ट्रम्पले अमेरिकालाई ‘विश्वकै क्रिप्टो राजधानी’ बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् ।

तर, पूर्वराष्ट्रपति जर्ज डब्लु बुशका कार्यकालका ह्वाइट हाउसका पूर्व नैतिकता कानून प्रमुख रिचर्ड पेन्टरले भने राष्ट्रपतिको हैसियतमा रहँदै क्रिप्टोबाट यति ठूलो आम्दानी गर्नु ‘स्पष्ट रूपमा स्वार्थको द्वन्द्व’ भएको टिप्पणी गरेका छन् ।

ट्रम्पले सन् २०२१ मा बिटक्वाइनलाई ‘ठगी’ र ‘दुर्घटनाको प्रतीक्षा गरिरहेको प्रणाली’ भनेका थिए । तर २०२४ को चुनावी अभियानमा उनले अमेरिकालाई ‘विश्वकै क्रिप्टो राजधानी’ बनाउने घोषणा गरेका थिए । 

पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि उनले क्रिप्टो उद्योगको प्रवर्द्धन गर्ने कार्यकारी आदेश जारी गरेका थिए भने गत जुलाईमा डिजिटल सम्पत्तिको विकासलाई प्रोत्साहन गर्ने ‘जिनियस एक्ट’मा हस्ताक्षर गरेका थिए ।

फोर्ब्सका अनुसार ट्रम्पको कूल सम्पत्ति हाल करिब ६ अर्ब अमेरिकी डलर पुगेको छ, जुन सन् २०२४ मा २ अर्ब ३० करोड डलर थियो । ब्लुमबर्ग बिलिनेयर सूचकांकले भने उनको सम्पत्ति ७ अर्ब ६० करोड डलर रहेको अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्