
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको केही दिन लामो अन्त्येष्टि समारोहको तयारी भैरहेको छ । खामेनीको अन्त्येष्टि तयारी चलिरहँदा इरानको अर्धसैनिक बल 'इस्लामिक रिभोलुसनरी गार्ड' (आईआरजीसी) का शक्तिशाली जनरल लामो समयको अज्ञातवासपछि सार्वजनिक रूपमा देखा परेका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले अनलाइनमा सार्वजनिक गरेका तस्वीरहरू अनुसार जनरल अहमद वहिदी ८६ वर्षीय खामेनीको अन्त्येष्टि व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी भएका थिए। बिहीबार राति मध्य तेहरानस्थित सर्वोच्च नेताको पूर्वनिवास नजिकै आयोजित एक सानो धार्मिक शोक सभामा उनी खामेनीको कफिनको छेउमा बसेका देखिए।
गम्भीर घाइते भई अज्ञात स्थानमा रहेका इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीसँग सीधा सम्पर्कमा रहेका सीमित उच्च अधिकारीहरूको समूहमा जनरल वहिदी पनि सामेल रहेको विज्ञहरू बताउँछन् । नयाँ सर्वोच्च नेता मोज्ताबा आफ्ना पिता अली खामेनी मारिएको गत फेब्रुअरी २८ को इजरायली हवाई आक्रमणमा घाइते भएका थिए । इरान युद्ध शुरू हुनुभन्दा केही साताअघि, अर्थात् गत फेब्रुअरी ८ देखि जनरल वहिदी सार्वजनिक रूपमा देखिएका थिएनन्।
इरानी सरकारी सञ्चारमाध्यमले तेहरानस्थित खामेनीको कम्पाउन्डमा आयोजित शोक सभाको भिडियो सार्वजनिक गरेको छ। युद्धको शुरूआती क्षणमै भएको इजरायली हवाई हमलामा खामेनी र उनका परिवारका केही सदस्य मारिएका थिए। मञ्चमा राखिएको खामेनीको कफिनको अगाडि राता ट्युलिप फूलहरू सजाइएका थिए भने छतबाट कागजका पुतलीहरू झुन्ड्याइएको देखिन्थ्यो।
सन् २०२५ को १२ दिने युद्ध र हालैको इरान युद्धमा आफ्ना प्रियजन गुमाएका परिवारका सदस्यहरू कालो पहिरनमा शोक मनाउन उपस्थित थिए। उनीहरूले कफिनमा छुवाएर आशीर्वाद लिन आफ्ना स्कार्फ र अन्य वस्तुहरू भित्रका कर्मचारीतर्फ फ्याँकिरहेका थिए, जुन इरानमा एक प्रचलित धार्मिक अभ्यास हो।
पछि, खामेनीको कफिनलाई सेतो अक्षरमा या हुसेन लेखिएको रातो झण्डाले ढाकिएको तस्वीर सार्वजनिक भयो। यो झण्डा इराकको कर्बलास्थित इमाम हुसेनको सुनौलो गजुर भएको मजार (श्राइन) मा फहराइँदै आएको थियो, जसले अन्यायपूर्वक मारिएका व्यक्तिको बगेको रगत र बदलाको आह्वानलाई सङ्केत गर्छ।

शुक्रबार बिहान सुरक्षाकर्मीहरूले खामेनीको कफिनलाई हातैले बोकेर तेहरानको 'ग्रान्ड मोसल्ला' मा पुर्याएका थिए। त्यहाँ धार्मिक नेताहरूले खामेनी र उनका मारिएका परिवारका सदस्यहरू (जसमा उनकी १४ महिनाकी नातिनी जहरा मोहम्मदी गोलपायगानी पनि सामेल थिइन्) को कफिनको परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पण गरे।
शनिबारदेखि शुरू हुने केही दिन लामो अन्त्येष्टि यात्राका क्रममा खामेनीको पार्थिव शरीरलाई इरानका विभिन्न सहरहरू र छिमेकी देश इराकमा समेत लगिनेछ। दशकौँसम्म फलामे मुठ्ठीले इरानको शासन चलाएका र पश्चिमा देशहरूसँग कडा टक्कर लिएका खामेनीको बिदाइका लागि तेहरानका सडक, हवाई क्षेत्र र दैनिक जीवन ठप्प पार्ने अधिकारीहरूको योजना छ।
इतिहासकै सबैभन्दा ठुलो अन्त्येष्टि
अहिले आयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी भइरहँदा, एसोसिएटेड प्रेस (एपी) ले सन् १९८९ मा इरानका ऐतिहासिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीको अन्त्येष्टिका बेला मच्चिएको अभूतपूर्व हलचल र इतिहासकै ठुलो भीडको संस्मरण र आफ्नो ऐतिहासिक विवरण पुनः सार्वजनिक गरेको छ।
६ जुन १९८९ मा, सन् १९७९ को इस्लामिक क्रान्तिका नायक आयातोल्लाह रुहोल्लाह खोमेनीलाई गाड्न तेहरानका सडकमा लाखौँ इरानीहरू ओर्लिएका थिए। अत्यधिक गर्मी र भीडका कारण स्थिति छिट्टै नियन्त्रण बाहिर गएको थियो।
गर्मीको पर्वाह नगरी मानिसहरूले लयबद्ध रूपमा आफ्नो छाती र टाउको पिटिरहेका थिए भने महिलाहरूको रोदनले वातावरण गुञ्जायमान थियो। शोकमा डुबेका मानिसहरूको अनियन्त्रित भीड कफिनतर्फ ओइरिँदा ८६ वर्षीय धार्मिक नेता खोमेनीको सेतो कफनमा बेरिएको शव कफिनबाट बाहिर भुइँमा खसेको थियो।
उक्त हतास भीड र कोलाहलका कारण कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने झन्डै ११,००० मानिस घाइते वा बेहोस भएका थिए। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यो इतिहासमै कुनै पनि अन्त्येष्टिमा सहभागी भएको जनसङ्ख्याको सबैभन्दा ठुलो प्रतिशत थियो। त्यतिबेला इरानको कुल जनसङ्ख्याको झन्डै छैटौँ हिस्सा— अर्थात् अनुमानित १ करोड २ लाख मानिस सडकमा उत्रिएका थिए।
अन्त्येष्टिमा २ करोड मानिस सहभागी हुने अनुमान
इरानले जुलाई ४ र ५ मा तेहरानमा दुई दिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) का अनुसार कार्यक्रममा २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ, जसले इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
इरानी सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गरी खामेनीको निधनप्रति समवेदना व्यक्त गरेको जनाएको छ । संवादका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था, होर्मुज जलडमरूमध्य, लेबनान युद्धविराम र जारी कूटनीतिक वार्ताबारे पनि छलफल भएको बताइएको छ ।
घानास्थित इरानी दूतावासले सन् २०१६ मा तत्कालीन घानाका राष्ट्रपति जोन ड्रामानी महामा र खामेनीबीच भएको भेटवार्तालाई स्मरण गर्दै श्रद्धाञ्जली सन्देश सार्वजनिक गरेको छ । दूतावासले खामेनीले अफ्रिकालाई आत्मनिर्भर र सम्मानित राष्ट्रहरूको महादेशका रूपमा हेर्ने दृष्टिकोण व्यक्त गरेको उल्लेख गरेको छ ।

भारतको विदेश मन्त्रालयले पनि बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) सैयद अता हसनैन तथा विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटा जुलाई ३ मा इरान पुगेर अन्त्येष्टि समारोहमा सहभागी हुने जनाएको छ ।
यता, नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने सुरक्षा जोखिमका कारण आफ्ना पिता अली खामेनीको अन्त्येष्टि समारोहमा सार्वजनिक रूपमा सहभागी नहुने जनाइएको छ । इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार जुलाई ४ बिहान ६ बजेदेखि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा सर्वसाधारणका लागि श्रद्धाञ्जली कार्यक्रम शुरू हुनेछ भने जुलाई ५ बिहान अन्तिम प्रार्थना आयोजना गरिनेछ । त्यसपछि राजधानीको फराकिलो मार्ग हुँदै शवयात्रा निकालिनेछ । आईआरजीसीको तेहरान कमान्डका प्रमुख ब्रिगेडियर जनरल हसन हसनजादेहका अनुसार अपेक्षित भीडका कारण एउटै सडक प्रयोग गर्न नसकिने निष्कर्षपछि फराकिलो क्षेत्रमा शवयात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमका लागि मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकाय पूर्ण रूपमा परिचालन गरिएको छ । सहभागीहरूका लागि खानेपानी, भोजन, स्वास्थ्य सेवा, सरसफाइ र अन्य आवश्यक सुविधा उपलब्ध गराइने जनाइएको छ । इरानी अधिकारीहरूले समारोहमा १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्म सहभागी हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् भने केही मूल्यांकनले यो संख्या २ करोडसम्म पुग्न सक्ने देखाएको छ ।
इरानी पक्षका अनुसार अयातोल्लाह अली खामेनी यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका थिए । त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त गरिएको थियो । एपी