२५ असार २०८३, बिहीबार
श्रद्धाञ्जली दिनेको भीड

खामेनीको अन्त्येष्टिमा लाखौं जनता सहभागी, इरानले नयाँ सुरक्षा रणनीति अपनाउने संकेत

असार २१, २०८३
काठमाडौं
खामेनीको अन्त्येष्टिमा लाखौं जनता सहभागी, इरानले नयाँ सुरक्षा रणनीति अपनाउने संकेत

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रममा दोस्रो दिन पनि लाखौं समर्थकको उपस्थितिमा जारी रहँदा इरानले भविष्यमा नयाँ सुरक्षा रणनीति अपनाउने संकेत दिएको छ ।

तेहरानस्थित ग्रान्ड मोसल्ला हलमा खामेनीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो भीड लागेको थियो । अत्यधिक गर्मीका बीच श्रद्धाञ्जली दिन आउनेका लागि पानी छर्किने उपकरण जडान गरिएको थियो भने स्वयंसेवकहरूले चिसो पेय पदार्थ वितरण गरेका थिए ।

खामेनीको निधनसँगै इरानी राजनीतिक प्रणाली भने यथावत् नरहने विश्लेषण गरिएको छ । उनका उत्तराधिकारी तथा छोरा मोज्तबा खामेनीले आफ्ना पिताभन्दा फरक रणनीति अपनाउने संकेत देखाएका छन् ।

विश्लेषकहरूका अनुसार नयाँ नेतृत्वले प्रत्यक्ष टकरावको नीति अघि बढाउँदै छिमेकी मुलुकहरूप्रति कडा अडान लिएको छ भने अमेरिका र इजरायलसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ ।

अमेरिकाले इरानमा शासन परिवर्तन गराउन नसके पनि वर्तमान घटनाक्रमले इरानी सत्ता संरचनाभित्र भने उल्लेखनीय परिवर्तन ल्याएको टिप्पणी गरिएको छ ।

इरानको नयाँ रणनीतिको केन्द्रमा 'प्रतिरोधमार्फत प्रतिरोध'को अवधारणा रहेको जनाइएको छ । इरानले आफूविरुद्ध फेरि युद्ध भए त्यसको असर आफ्ना सीमाभन्दा बाहिरसम्म विस्तार हुने चेतावनी दिएको विश्लेषण गरिएको छ ।

त्यसको संकेतका रूपमा इरानले होर्मुज जलडमरूमाथिको नियन्त्रणलाई रणनीतिक अस्त्रका रूपमा प्रयोग गर्ने नीति अघि सारेको छ । तेहरानको सन्देश स्पष्ट रहेको विश्लेषकहरूको भनाइ छ; यदि इरानमा स्थायित्व रहँदैन भने अरू देशले पनि सहज रूपमा तेल व्यापार गर्न पाउने छैनन् ।

अमेरिकासँगको टकराव र युद्ध अन्त्यका सम्भावित वार्तालाई पनि दुवै पक्षले एकअर्काको सीमा परीक्षण गर्ने 'जवाफी रणनीति'का रूपमा अघि बढाइरहेका छन् ।

यसैबीच, इरानले लेबनानलाई पनि आफ्नो सुरक्षा रणनीतिसँग प्रत्यक्ष रूपमा जोडेको छ । बेरुतको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि इरानले जवाफी कदम चाल्दै लेबनानको मोर्चालाई अलग विषय नभई आफ्नो समग्र सुरक्षा समीकरणको हिस्सा भएको सन्देश दिएको छ ।

खामेनीको अन्त्येष्टि कार्यक्रम इराकका नजाफ र करबला जस्ता शिया धर्मावलम्बीका पवित्र शहरमा पनि आयोजना गरिने तयारी छ । यसमार्फत इरानले शिया विश्वमा आफ्नो प्रभाव अझै कायम रहने सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्