
सरकारले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र स्वास्थ्य सेवातर्फ ११औँ तहका १५ जना वरिष्ठ कर्मचारीहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा २०८३ असार १८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो ।
परराष्ट्र मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवको जिम्मेवारी तोकिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेकी अनिता श्रेष्ठलाई युवा, तथा रोजगार मन्त्रालयमा पठाइएको छ ।
यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत विविध सेवाका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कार्यरत सहसचिवद्वय भीमकुमार भुसाल र यमलाल भुसालका साथै श्रम मन्त्रालयका प्रेम प्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा खटाइएको छ ।
अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालय र गजेन्द्रकुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्रमशः रमेश अर्याल र भरतमणि पाण्डेलाई प्रदेश सचिवको रूपमा पठाइएको छ ।
स्वास्थ्य सेवातर्फ, मधेश र कोशी प्रदेशका प्रदेश सचिव रहेका रामआधार यादव र डा. यदुचन्द्र घिमिरेलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।
यस्तै, कृत्तिपाल सुवेदीलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा जिम्मेवारी दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेका बायोटेक्नोलोजी समूहकी मोनिका झा र केमेष्ट्री समूहका शैलेसकुमार झालाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।