३२ असार २०८३, बिहीबार

कांग्रेसद्वारा प्रतिनिधि सभा नियमावलीविरुद्ध रिट दर्ता

असार २६, २०८३
काठमाडौं
कांग्रेसद्वारा प्रतिनिधि सभा नियमावलीविरुद्ध रिट दर्ता

नेपाली कांग्रेससले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेशी पनि तोकेको छ । 

संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको धारा २७४(८)सँग बाझिएकोले खारेज गर्न काँग्रेसले रिटमा माग दाबी गरेको छ । 

राष्ट्रिय सभामा काँग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले रिट दर्ता गरेका हुन्  ।

काँग्रेसलगायतका दलहरूले विरोध र नाराबाजी गर्दागर्दै गत जेठ १७ गते बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली २०८३ मा काँग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो । काँग्रेसले नियमावलीको मस्यौदामा रहेका कतिपय प्रावधानमा थप छलफलको आवश्यकता रहेकोले छलफलका लागि समितिमा पठाउन माग गरेको थियो । तर सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि बढाएका थिए। सो मस्यौदा समिति राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा रहेको थियो । 

रिटमा प्रतिनिधि सभा, संसद सचिवालय, सभामुख अर्याल, मस्यौदा समिति संयोजक पराजुली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटको मस्यौदाकार अधिवक्ता राजु कटुवालले जानकारी दिए । 

रिटमा उल्लेखित प्रावधानहरू बदर गरी कार्यान्वयन नगर्न आदेश दिन माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्