०२ असार २०८३, मंगलबार

बिहीबार दिनभर : ११ वर्षपछि सरकारले मनायो पृथ्वी जयन्ती, सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

बिहीबार दिनभर : ११ वर्षपछि सरकारले मनायो पृथ्वी जयन्ती, सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, २८ पुस– नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्योपदेशको स्मरण गर्दै बिहीबार राष्ट्रिय एकता दिवस मनाइएको छ । गणतन्त्र स्थापनापछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको हो ।
दोस्रो जनआन्दोलनपछि सरकारले उनको जन्मदिनका अवसरमा दिने बिदा कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदासमेत दिएको थियो । सिंहदरबार अगाडि भएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, नेपाली काँगे्रेसका नेता डा रामशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्ति सहभागी थिए । 

शाह राष्ट्रिय सम्पत्तिः देउवा– प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाह राष्ट्रिय सम्पत्ति भएको बताएका छन् । पृथ्वीनारायण शाहको २९६ औँ जयन्तीको अवसरमा बिहीबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  
कार्यक्रममा उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषयमा लामो समयदेखि भएको प्रयास यो वर्ष मात्र सफल भएको बताए ।


सरकार छाड्दै माओवादी– नेकपा माओवादी वर्तमान सरकारबाट बाहिरीने तयारी गरेको छ । चार महिनादेखि विनाविभागीय मन्त्रीका रुपमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु नयाँ सरकार गठन हुने भएसँगै सरकारबाट बाहिरीने तयारी भएको हो ।
पार्टीकोतर्फबाट सरकार छोड्ने निर्णय भएको र एकमुष्ट राजीनामा दिने तयारी भइरहेको माओवादीले जनाएको छ । शुरबहादुर देउवा सरकारमा माओवादी केन्द्रका नौ मन्त्री र सात राज्यमन्त्रीसहित १६ जना मन्त्री सहभागी छन् । 


निर्वाचन अधिकृत नियुक्त– निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीबारदेखि लागु हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ अनुरुप प्रत्येक प्रदेशमा एक–एक जना गरी ७ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ । निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ। 


उपराष्ट्रपति नन्दबहादुर पुन- उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको एजेन्डा आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिएका छन् । चेम्बर अफ कमर्सको ६७ औं वार्षिक साधारणसभा तथा चेम्बर दिवस २०७४ उद्घाटमा उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकाल अन्त भई मुलुकमा शान्ति स्थापना भएकाले अब आर्थिक एजेन्डामा जोड दिनुपर्ने बताए । 
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेको गुनासो गरे । 


प्रचण्ड र मोहनविक्रम भेट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका बिषयमा समान धारणा बनाएर अघि बढ्ने बिषयमा छलफल भएको छ । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा राष्ट्रिय तथा आर्थिक एजेण्डामा पनि एउटै धारणा बनाउने बिषयमा छलफल भएको थियो । 
राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने प्रचण्डले बताए । 

केसीको अनशन जारी– डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले कतिपय मागहरु अहिलेसम्म सम्बोधन नभएको उल्लेख गर्दै सबै मागहरु पूरा नहोउन्जेल आफ्नो सत्याग्रह जारी रहने अडान दोहोर्याएका छन् । 
पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेकोले अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ  ।
डाक्टर गोविन्द केसीले आफ्नो अनसन जारी रहने बताउनुभएको छ । 

थप ३ पक्राउ– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मध्ये थप ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले राजकुमार साह, सूर्य बाजी र श्याम गुप्तालाई पक्राउ गरेको हो । 
यो सँगै गौचन हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तको संख्या ११ पुगेको छ । घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।


जिल्ला सभापतिहरुको भेला– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला मेलम्चीमा सम्पन्न भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, पाँचथर, मुगु, ताप्लेजुङ, रुपन्देही, बर्दिया, मनाङलगायत जिल्लाका सभापतिहरु सहभागी भेलाले आफ्ना मागहरुका लागि दबाव दिने निर्णय गरेको छ । 
भेलाले सिंचाइमन्त्री एवं बार्दियाका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय समिति पनि गठन गरेको छ । समितिले निर्वाचनको समीक्षाका साथै कांग्रेस जिल्ला सभापतिहरुको हितमा तदारुकताका साथ काम गर्ने भएको छ ।

 
खेल खबर– राखेप च्याम्पियनसिप अन्तर्गत १६ औं राष्ट्रिय महिला फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । सुपरलिग अन्तर्गत सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको निर्णायक तथा अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।  
–नेपाल आर्मी थ्रीस्टारलाई पराजित गर्दै दोस्रो सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको क्वाटफाइनल खेलमा आर्मीले थ्रीस्टारलाई २–१ ले पराजित गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्