
काठमाडौं, २८ पुस– नागरिक अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ । आमरण अनशनको चौथो दिन बिहीबार उनको मुटुको धड्कन अचानक बढेको छ ।
‘चिटचिट पसिना आउने र मांसपेशी खुम्चने समस्याले पनि सताउन थालेको छ,’ उनलाई सघाउन खटिएका नातेदार हिमालय कार्कीले भने, ‘अनशन नबस्दा पनि एक छाक मात्र खाने उहाँको बानी भएकाले शरीर त्यसै पनि गलेकै थियो, झन् चाररचार दिनदेखिको अनशन र अदालतमा दौडधुप अनि प्रहरी धरपकडले निकै गलाएको छ ।’ बिहीबार दिनभर केसी शिक्षण अस्पतालको अनशनस्थलमा आँखा चिम्लिएर मौन पल्टिरहे ।
उनको स्वास्थ्यको निगरानीमा खटिएका डा. सुमन आचार्यले केसीलाई साँझपख रिङटा लाग्ने समस्याले पनि गालेको बताए । ‘हामीले उहाँको रगत परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘रिपोर्ट आएपछि उहाँको स्वास्थ्यस्थितिको पछिल्लो अवस्था थाहा हुनेछ ।’ अनशन बसिरहेका केसीको मुद्दाको अर्काे सुनुवाइ फागुन ८ गते हुने सर्वाेच्चको आदेश छ, कान्तिपुरमा खबर छ ।