०३ साउन २०८३, आइतबार

कोशीमा कांग्रेसले बोलायो संयन्त्रको बैठक, के गर्ला निर्णय ?

असार ३१, २०८३
विराटनगर
कोशीमा कांग्रेसले बोलायो संयन्त्रको बैठक, के गर्ला निर्णय ?

कर्णाली र सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमसँगै कोशी प्रदेशमा पनि सत्ता समीकरण फेरबदलको संकेत देखिएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारीमा खटपट शुरू भएपछि कोशीमा कांग्रेसले भोलि (बिहीबार)का लागि पार्टी र सरकारबीच समन्वय गर्न बनेको संयन्त्रको आकस्मिक बैठक बोलाएको छ ।

अन्य प्रदेशहरूमा मन्त्रीहरूको राजीनामा तथा बर्खास्तगीको श्रृङ्खला चलिरहँदा कोशी कांग्रेसले भोलि बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी संयन्त्रको बैठक तय गरेको हो ।

स्रोतका अनुसार यो बैठकमा प्रदेशको भावी रणनीति र एमालेसँगको समीकरण तोड्ने विषयमा गम्भीर छलफल हुनेछ । बैठकमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, पार्टीका महामन्त्रीसहित सिनियर नेताहरू अमृत अर्याल, गयानन्द मण्डल र सरकारको नेतृत्व गरिरहेका प्रदीप सुनुवार लगायत सहभागी हुने कार्यतालिका छ । संयन्त्रमा सरकारको तर्फबाट प्रदीप सुनुवार सहभागी हुन्छन् ।

केन्द्रबाट अहिलेसम्म कुनै औपचारिक र आधिकारिक निर्देशन नआए तापनि संयन्त्रको बैठक बसेर परिस्थितिको मूल्यांकन गर्न निर्देशन प्राप्त भएको एक नेताले बताए ।  

स्रोत भन्छ, ‘सुदूरपश्चिम र कर्णालीको प्रभाव यहाँ पनि परिसकेको छ, भोलिको बैठकपछि कोशीमा कांग्रेस कसरी अगाडि बढ्छ भन्ने ठोस निर्णय आउनेछ ।’

कांग्रेस उपनेता हिमाल कार्कीले अन्य प्रदेशमा उत्पन्न समस्या र त्यसले कोशीमा पार्ने प्रभावबारे छलफल गर्न बैठक बोलाइएको पुष्टि गरे । ‘भोलिको बैठकले कोशीमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस धारणा तय गर्नेछ,’ कार्कीले भने ।

यद्यपि, कांग्रेसका नेताहरूले केन्द्रको आधिकारिक धारणा  कुरिरहेको बताएका छन् ।  आज बुधबार रातिसम्म केन्द्रबाट केही थप निर्देशन आउन सक्ने नेताहरूले बताएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्