०५ साउन २०८३, मंगलबार

रोहित शर्माको शतकीय पारिका बाबजुद भारत पराजित

साउन ४, २०८३
काठमाडौं
रोहित शर्माको शतकीय पारिका बाबजुद भारत पराजित

रोहित शर्माको उत्कृष्ट शतकीय पारिका बाबजुद भारत तेस्रो एकदिवसीय (ओडीआई) खेलमा घरेलु टोली इङ्गल्याण्डसँग २७ रनले पराजित भएको छ। जितसँगै इङ्गल्याण्डले तीन खेलको ओडीआई शृङ्खला २-१ ले आफ्नो कब्जामा पारेको हो ।

लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३८७ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा ३८८ रनको विशाल लक्ष्य पछ्याएको भारतीय टोली ५० ओभरमा ३६० रनमा समेटियो । भारतका लागि रोहित शर्माले १३८ रनको शतकीय पारि खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

इङ्गल्याण्डको जितमा अलराउण्ड प्रदर्शन गरेका ज्याकब बेथेल ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ९१ रन बनाउनुका साथै १ विकेट पनि लिए । शृङ्खलाको पहिलो खेल भारतले ६ विकेटले जितेको थियो भने दोस्रो खेल इङ्गल्याण्डले ४ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

यसअघि इङ्गल्याण्डले टी-२० शृङ्खलामा पनि भारतलाई ४-० ले क्लिन स्विप गरेको थियो । इङ्गल्याण्ड भ्रमणअघि आयरल्याण्डले पनि भारतलाई टी-२० शृङ्खलामा २-० ले पराजित गरेको थियो ।

३८८ रनको कठिन लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि १४७ रनको बलियो साझेदारी गर्दै उत्कृष्ट शुरूआत दिलाएका थिए । गिल ७८ बलमा ७७ रन बनाएर आउट भए ।

त्यसपछि रोहितले विराट कोहलीसँग मिलेर दोस्रो विकेटका लागि ११३ रनको साझेदारी गरे । आक्रामक ब्याटिङ गरेका रोहितले १११ बलमा १७ चौका र ५ छक्काको मद्दतमा १३८ रन बनाए ।

अर्कोतर्फ, विराट कोहलीले पनि अर्धशतकीय पारि खेले। उनी ६० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भए। इङ्गल्याण्डका लागि साम करनले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डका लागि बेन डकेटले १३५ बलमा १४१ रनको शतकीय पारि खेले भने ज्याकब बेथेलले ९१ रन जोडे। दुवैले पहिलो विकेटका लागि १९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तयार गरेका थिए।

त्यसपछि क्रिजमा आएका जो रुटले ७४ रन र जोस बटलरले ४१ रन बनाउँदै अविजित रहे। दुवैले अन्तिम १९ बलमा ६३ रन जोड्दै इङ्गल्याण्डको स्कोर ३८७/३ सम्म पुर्‍याएका थिए। यो भारतविरुद्ध ओडिआई इतिहासमा इङ्गल्याण्डको हालसम्मकै सबैभन्दा ठुलो स्कोर पनि हो। भारतका तर्फबाट प्रसिद्ध कृष्णाले २ विकेट लिए भने प्रिन्स यादवले १ विकेट हात पारे।

salt training

कमेन्ट गर्नुहोस्