
जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ ।
बुधबारदेखि लागू हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सेवाग्राहीले सार्वजनिक बिदाका दिनबाहेक हरेक बिहान आठ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्राप्त गर्न सक्ने उनले बताए ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने ‘सफ्टवेयर अपग्रेड’ हुने क्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरुद्धसमेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ । जसका कारण समयमा सेवा प्रवाह हुन नसकी कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको हो ।
कार्यालयले मङ्गलबार सार्वजनिक सूचनामार्फत विगतमा तस्बिर खिचाएर बायोमेट्रिक दिएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र आएकोबारे मोबाइलमा सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि कार्यालयले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई अनुरोध गरिएको हो ।