
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाप्रमुख (कमान्डर-इन-चिफ) ओलेक्सान्डर सिरस्कीलाई पदबाट बर्खास्त गरेका छन् ।
लोकप्रिय रक्षामन्त्री माइखाइलो फेदोरोभलाई पदमुक्त गरिएपछि देशभर शुरू भएको जनप्रदर्शन र तीव्र असन्तोषबीच जेलेन्स्कीले सेनाप्रमुखलाई पनि हटाउने निर्णय लिएका हुन्।
३५ वर्षीय पूर्वरक्षामन्त्री फेदोरोभ र ६० वर्षीय पूर्व सेनाप्रमुख सिरस्कीबीच आन्तरिक मतभेद रहेको चर्चा चल्दै आएकोमा अन्ततः त्यसैको परिणामस्वरूप दुवै जना पदमुक्त भएकाहुन्।
फेदोरोभलाई रक्षा मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, सशस्त्र बलको रूपान्तरण गर्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने युवा नेताका रूपमा हेरिन्थ्यो। अर्कोतर्फ, सिरस्कीलाई भने सेनामा द्रुत र रेडिकल परिवर्तन गर्न अनिच्छुक 'सोभियतकालीन शैली' का कमान्डरका रूपमा मूल्याङ्कन गरिन्थ्यो।
जेलेन्स्कीले सिरस्कीको ठाउँमा ४३ वर्षीय अनुभवी र युद्धमैदानमा खारिएका जनरल माइखाइलो द्रापातीलाई नयाँ सेनाप्रमुख नियुक्त गरेका छन्।
उनले युक्रेनी सेनालाई बलियो बनाउन योगदान पुर्याएको भन्दै पूर्व सेनाप्रमुख सिरस्कीलाई धन्यवादसमेत दिएका छन्।
राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै सन् २०२२ मा रुसको पूर्णकालीन आक्रमणका बेला राजधानी किभको सफल प्रतिरक्षा गर्नेसहितका सैन्य अभियानहरूका लागि सिरस्कीलाई धन्यवाद व्यक्त गरेका छन्।