
कपिलवस्तुमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका–६ बिमिहा चोकमा शनिबार तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
त्यसक्रममा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–२ का ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ छन् ।
कपिलवस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार पश्चिमबाट काठमाडौं जाँदै गरेको गाडीले ठक्कर दिएर दुर्घटना भएको हो ।
गम्भीर घाइते दुवै जनालाई दुर्घटनापछि जिल्ला अस्पताल कपिलवस्तुमा पुर्याउँदा मृत्यु भइसकेको एसपी भट्टले बताए ।
अहिले बुटवल-गोरुसिंगे सडक निर्माणको क्रममा रहेकाले पश्चिमबाट पूर्वतर्फ जाने गाडी हुलाकी सडक भएर जाने गर्छन् । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।