काठमाडौँ, ११ माघ - नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले यही माघ ६ गते स्थानीय जिविस आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ ।
नेपाली काँग्रेस निकट विभिन्न भ्रातृ सङ्गठन तथा कार्यसमितिले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा काँग्रेसका युवानेता रमेश महतले सङ्घीयता नचाहने समूहले सुनियोजित रुपमा सो घटना घटाएको आरोप लगाउदै कानुनी कारबाहीको माग गरे । तोडफोडमा करिब डेढ करोडको नोक्सानी भएको र सुरक्षाकर्मीसहित १८ जना घाइते भएको बताइएको छ ।
नेपाल महिला सङ्घ नुवाकोटकी अध्यक्ष कल्पना नेपालीले त्यस क्षेत्रमा नौ दिनदेखि बन्द तथा हडताल भइरहेकाले स्थानीय जनजीवनमा प्रतिकूल प्रभाव परेको बताउँदै सडक बालेर समस्याको समाधान नहुने हुँदा वार्ता र छलफलको माध्यमबाट निकास खोज्न सम्बन्धित पक्षलाई आग्रह गरिन् ।
तरुण दलका नेता प्रमोद खरेलले जिल्लामा भइरहेको बन्द तथा तोडफोडको क्रियाकलापले जनतालाई दुःख हुने बताउँदै तत्काल बन्द फिर्ता लिएर शान्तिपूर्ण तरिकाले आफ्ना अधिकारका लागि प्रस्तुत हुन सुझाव दिए ।
नेकपा (माओवादी केन्द्र) निकट सङ्गठनलगायतले नुवाकोट जिल्लाका खानीगाउँ, चौडाँडा र लिखुगाउँलाई मिलाएर लिखु गाउँपालिका बनाउनुपर्ने माग राखी यही माघ २ गतेदेखि निरन्तर त्यस क्षेत्रमा बन्द तथा हडताल गर्दै आएका छन् ।