
काठमाडौं — क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले संसार आणविक युद्धनजिक पुगेको र सानो गल्तीले पनि विनाश निम्त्याउने बताएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरू चिली र पेरुको भ्रमण शुरू गर्नुभन्दा अघि पोपले यो कुरा बताए ।
यौन उत्पीडनको मामिला आएपछि चिलीको क्याथोलिक चर्च विवादमा रहँदा पोपको भ्रमण हुन लागेको हो ।
उत्तर कोरियाले हालै गरेका आणविक परीक्षणले निम्त्याएको जोखिम र अघिल्लो हप्ता अमेरिकाको हवाईमा फैलिएको आणविक आक्रमणको हल्लालाई सन्दर्भ बनाउँदै पोपले संसार विनाशको नजिक पुगेको बताए ।
उनले भने, ‘म एकदम डराएको छु । एउटा गलत कदम मात्रले स्थिति बिगार्छ ।’
पोप बनेपछि फ्रान्सिसको यो पहिलो चिली यात्रा हो ।
एजेन्सी