
काठमाडौं, ३ माघ– सरकारले सातै प्रदेशका अस्थायी राजधानी तोकेपछि तोकिएको स्थानमा खुसीयाली छाउनुका साथै दीपावली समेत गरिएका छन् ।
तर, प्रदेश राजधानी हुनुपर्ने माग राख्दै विगतमा समेत आन्दोलन हुँदै आएका स्थानका स्थानीय थप आक्रोशित भएका छन् । उनीहरुले सरकारको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहितका दलका नेताहरु पुतलासमेत जलाउँदै आन्दोलनलाई थप सशक्त पार्ने उद्घोष गरेका छन् ।
विशेषगरी प्रदेश नम्बर १ को धनकुटा, प्रदेश नम्बर ५ को दाङ र प्रदेश नम्बर ७ को डोटीमा आक्रोश देखिएको छन् । जहाँका स्थानीयले प्रदेश राजधानी सो स्थानमा हुनुपर्ने माग राख्दै विगतदेखि नै आन्दोलन गर्दै आएका थिए ।
प्राप्त विवरणअनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर नभएर धनकुटा हुनुपर्ने माग गर्दै आएकाहरुले साँझ विरोध जुलुस निकालेका छन् । उनीहरुले सरकारको निर्णय सच्याउन माग गर्दै आन्दोलन चर्काउने बताएका छन् ।
यस्तै प्रदेश नम्बर ५ को राजधानी माग गर्दै आएका दाङका स्थानीयदेखि राजनीतिक दलका नेतासम्मले आक्रोश पोखेका छन् । एमाले प्रदेशसभा सांसद तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, चर्चित लोकगायिका कोमल वलीलगायतले कुनैपनि हालतमा प्रदेश नम्बर ५ को राजधानी दाङनै हुनुपर्ने भन्दै स्थानीयको आन्दोलनमा समर्थन रहने बताएका छन् । सरकारले रुपन्देहीलाई ५ नम्बर प्रदेशको राजधानी तोकेपछि प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बसेको आकस्मिक बैठकले सरकारको निर्णयको विरोध गर्दै माघ ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सरकारको निर्णय विभोदपुर्ण भन्दै अनिश्चितकालिन आमहड्ताल गर्ने तथा सरकारी कामकाज ठप्प पार्ने निर्णय गरेको समितिका सदस्यसचिव सविन प्रियासनले बताए । 
यता सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा तनाव सिर्जना भएको छ । आक्रोशित स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएको खबर छ ।
आन्दोलन संयोजन समितिले अनिश्चितकालीन डोटी बन्दको घोषणा समेत गरेको छ।
यता रुपन्देहीमा भने दीपावली गरिएको छ । रुपन्देहीका राजनीतिक दल, संघ–संस्था र स्थानीयहरुले बुधबार साँझ विभिन्न स्थानमा दिपावली गरेको लोकान्तर प्रतिनिधि प्रकाश आचार्यले जनाएका छन् ।
कांगेस रूपन्देहीले बुटवलको पुष्पलाल पार्क, मिडियाचोक, मणिग्राम र देवदहमा साँझ दिपावली गरेको छ ।

त्यस्तै एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै यस क्षेत्रका जनताको चाहनाको कदर गर्दै रुपन्देहीलाई राजधानी तोकिएको भन्दै आ–आफ्नो घर र चोक–चोकमा दिपावली गर्न आग्रह गरेका छन् ।
रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योग व्यवसायको हवको रुपमा विकास भएको रुपन्देहीले सरकारले राजधानी घोषणा गरेपछि आफूहरू आ–आफ्नो उद्योगहरुमा दिपावली गरिएको जानकारी दिए ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले भोलि बिहीबार भव्यताका साथ दिपावली गर्ने जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देही भोलि बिहीबार बिहान पुष्पलाल पार्कमा दिपावली गर्ने जानकारी दिएको छ ।
यस्तै मोरङ र कैलालीका विभिन्न स्थानमा पनि दीपावली गरिएको छ ।
सरकारले आज प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकेको हो । सरकारको निर्णयसँगै देशभरको माहोल तातिएको छ ।