
पोखरा, १२ माघ-नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतसहित पहिलो पार्टी बन्ने उद्घोष गर्दै पार्टी कार्यक्रममा औपचारिकता त्याग्ने घोषणा गरेको छ । जनवर्गीय संगठनहरू आबद्ध मोर्चा संगठनले पोखरामा आयोजना गरेको तीन दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममार्फत एमालेले पार्टी कार्यक्रममा औपचारिकता त्याग्ने घोषणा गरेको हो, आजको राजधानीमा खबर छ ।
‘हामी औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवं खर्चिला भइरहेका छन् । हामी यस्ता परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भीड थुपार्ने र आसन ग्रहणमा मूल्यवान् समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ एमालेका २० वटै जनसंगठनको नाममा जारी गरिएको २० बुँदे घोषणापत्रको चौथो बुँदामा भनिएको छ, ‘हामीले अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने, अरू सबै आमन्त्रित अतिथिहरूलाई दर्शकदीर्घामा नै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्नेछौं ।’ यस्तै, नेताहरूको सामाजिक प्रतिष्ठा, सम्मान र इज्जतको अझ अभिवृद्धि गर्दै सोहीअनुसार सम्मानजनक व्यवहार गर्न संवेदनशील रहेको जनाउँदै आगामी दिनमा नेताहरूलाई स्वागत गर्ने नाममा एयरपोर्ट र बसपार्कहरूमा अनावश्यक भीड जम्मा नगर्ने अर्को प्रतिबद्धता पनि गरिएको छ ।
नेताहरूलाई स्वागत गर्ने नाममा अनावश्यक भीड जम्मा गर्दै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने, अनावश्यक सामीप्यता दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने निचोड भेलाले निकालेको हो ।
आउने दिनमा हुने तीनै तहको निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउन आफ्नो सम्पूर्ण शक्ति निर्वाचनमै परिचालन गर्ने उद्घोष पनि गरिएको छ ।