काठमाडौं, १२ माघ-दुबईबाट आएको ३३ किलो सुन बरामद भएपछि नेपाल प्रहरीले विदेशबाट सुन पठाउने नेपाली गिरोहको अनुसन्धान सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीको ध्यान नेपालमा सुन झिकाउने समूह र विदेशमा बसेर सुन पठाउने नेपाली समूहको खोजीमा तानिएको खबर आजको राजधानीमा छापिएको छ |

गत २१ पुसमा ब्युरोले विमानस्थलबाट सुन बरामद गरी संलग्न रहेका सातजनालाई नियन्त्रण लिई अनुसन्धान गर्दा नेपाल–भारत र दुबईमा समेत गिरोह सक्रिय रहेको तथ्य फेला पारी अनुसन्धान अघि बढाएको हो । सुन ल्याउने तथा त्यससँग सम्बन्धित रहेका भन्सार कर्मचारीलाई संगठित अपराधमा अनुसन्धान सुरु गर्न थालेपछि प्रहरीले विदेशी गिरोहको खोजीमा लाग्न बाटो खुलेको थियो । यसअघि सुन बरामद हुँदा र पक्राउ परेका व्यक्तिहरूलाई संगठित अपराधको मुद्दा लगाइएको थिएन । उनीहरू राजस्व विभागबाट सहजै उम्किन थालेपछि प्रहरी आफैंले अदालतबाट अनुमति लिई सो मुद्दामा अनुसन्धान सुरु गरेको हो । ब्युरोले पक्राउ परेकाहरूको बयानका आधारमा दुबईबाट नेपालमा सुन पठाउने तीनवटा समूह सक्रिय रहेको तथ्य फेला पारेको थियो ।
तीनैवटाका अलग–अलग साझेदार नेपाल र भारतमा रहेका भन्दै नेपाली भारतीय र नेपालमै सुन–चाँदीको व्यवसाय गरी त्यसमार्फत भारतको अर्थतन्त्रमा समेत असर पार्ने गरी सुन तस्करीको समूह रहेकाले भारत सरकारको समेत सहयोगमा तस्करीको समूह खोजी गरिरहेको ब्युरो स्रोतले जनाएको छ । पक्राउ परेकाहरूको बयानका आधारमा एकपटकमा ३० देखि ५० किलोसम्म सुन दुबईबाट नेपाल हुँदै भारत जाने भएकाले भारतीय प्रहरीले पनि चासो राखिरहेको छ ।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालका अनुसार सुन तस्करीको अनुसन्धान सूक्ष्म रूपले गरिरहेकाले अनुसन्धानको दायरामा ल्याइने बताए ।